arrow

प्रचण्डलाई नेतृत्व छाड्न नैतिक दबाब 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
prachanda-tension-2080-11-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ताको नेतृत्वबाट हालै बाहिरिएको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको आलोचनामात्र होइन नेतृत्वको दाबी गर्ने र पार्टीमा समानान्तर अभ्यास गर्ने कसरत शुरु भएको छ । 

सत्ता राजनीतिमा ‘अस्थिर’ र पार्टी राजनीतिमा स्थायी अध्यक्षको  आरोप खेप्दै आएका  पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर नेतृत्व लिने र सामानान्तर गतिविधि गर्नेसम्मका कार्य शुरु भएका हुन् ।

सत्ताबाट बाहिरिएपछि पार्टी राजनीति सम्झेका प्रचण्डले निरन्तर विभिन्न बैठकहरु राख्ने पार्टीका आन्तरिक गतिविधि र भेलामा सहभागी हुने तथा प्रशिक्षणहरु दिने काम गरिरहेका छन् । 

त्यस क्रममा साउन ११ गतेदेखि केही दिन चलेको पार्टी पदाधिकारी बैठकमा पार्टीको भविष्यलाई लिएर व्यापक छलफल भयो । कतिपय पदाधिकारीले पार्टीको अस्तित्व संकट औँल्याएका थिए भने कतिपयले सरकारबाट बाहिरिनुलाई पार्टी पुनर्गठनको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए । तर यो बैठक प्रचण्डकै लागि प्रत्युत्पादक बन्यो ।

सरकारबाट बाहिर आएपछि नेकपा एकीकृत समाजवादीसहित समाजवादी मोर्चा ब्युँताएका अध्यक्ष प्रचण्डले सशक्त प्रतिपक्षीय भूमिकामा रहने बताएका थिए । कतिपय सन्दर्भमा जनतामाझ जाने चाहना पनि व्यक्त गर्दै आएका थिए । 

आफ्नो नेतृत्वको सरकारको पालामा भएका राम्रा कामको प्रचार गर्ने र कांग्रेस–एमाले गठबन्धनको भण्डाफोर गर्ने सोच उनमा बन्दै गएको देखिन्थ्यो । 

आफ्नो पार्टीको सहमति बिना कांग्रेस–एमालेले चाहेर पनि संविधान संशोधन गर्न नसक्ने हुँदा अध्यक्ष प्रचण्ड सत्ता गुमे पनि खासै निराश हुनु नपर्ने भन्दै नेताहरुलाई आश्वस्त पार्न खोजिरहेका थिए । 

प्रमुख प्रतिपक्षीय नेताका रूपमा राजनीतिलाई पुनर्जीवित गर्ने उनको सोच रहे पनि पार्टी पंक्तिलाई उनले खुशी पार्न सकिरहेका छैनन् । 

कांग्रेस–एमालेले दुई दलीय प्रणालीका नाममा पश्चगामी संविधान संशोधन गर्न खोजे नयाँ राजनीतिक ध्रुवीकरण हुने प्रचण्डको भनाइप्रति नेताहरु विश्वस्त हुन सकेका छैनन् ।

यही क्रममा पार्टीभित्र फरक धारणा राख्दै आएका प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले बैठकमा पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेर नेतृत्वलाई  अप्ठेरोमा पारे । 

सबै पदाधिकारीहरुले बैठकमा राजीनामा नदिए पनि उनी एक्लैले राजीनामा दिएर तरंग नै ल्याइदिए । उनले सबै पदाधिकारीलाई आ–आफ्नो पदबाट राजीनामा गर्न आग्रह गरेका थिए । 

गजुरेल लामो समयदेखि अध्यक्ष प्रचण्डनिकट रहेका नेता मानिन्थे । तर केही वर्षयता उनी प्रचण्डसँग असन्तुष्ट देखिन्छन् । उनले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाटसमेत राजीनामा दिएका थिए । 

उनले पार्टीभित्रको संरचना भन्दा पनि प्रचण्डको पारिवारिक घेराबन्दी देखेर राजीनामा दिएका थिए । 

खासगरी प्रचण्डको स्वकीय सचिवालयमा रहेकी प्रचण्ड पुत्री गंगा दाहाल र उनको पारिवारिक कारणले राजीनामा दिएर निस्केका थिए । 

यो विषयले पनि पार्टी बैठकमा केही समय प्रवेश पाएको थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीको जनमत त्यसयताका सबै निर्वाचनमा निरन्तर खस्किँदै गएको छ । 

यसले पार्टी पङ्क्तिले आत्मविश्वास कमजोर हुनुका साथै भविष्यको चिन्ता छाएको बताए पनि जनता माझ जाने कि सत्तामै फर्किने भन्ने विषयले प्रचण्डलाई अलमल पारेको बेला नारायणकाजी श्रेष्ठले पार्टीको नेतृत्व छाडे आफूहरु सम्हाल्न तयार रहेको बताएर अर्को तनाव सिर्जना गरिदिए । 

‘अब प्रचण्डले अध्यक्ष पद छाड्न तयार भए हामी सम्हाल्न तयार छौँ भन्ने सन्देश जानु आवश्यक छ’, श्रेष्ठले पदाधिकारी बैठकमा भनेका थिए । 

प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वको तेस्रो कार्यकाललाई विशेष उपलब्धिमूलक र लामो बनाउने बताउँदै आए पनि पार्टीले त्यसलाई अपनत्व लिन सकिरहेको छैन ।

उपमहासचिव हरिबोल गजुरेलले भने राजीनामामार्फत नेतृत्वमाथि नैतिक दबाब दिन खोजेको देखिन्छ । 

राजीनामाले महान् यात्रामा लामबद्ध हुन नैतिक बल प्रदान गर्दछ भन्ने उनको दाबी छ । राजीनामालाई उनले आफ्नो भागको ‘नैतिक जिम्मेवारी’ भनेका छन् । 

उनले पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न खडा गरिदिएका छन् । ‘हामीलाई यतिखेर चुनबाङभन्दा अझ स्तरीय बैठक चाहिएको हो । मल्हमपट्टी हैन, शल्यक्रिया चाहिएको हो, पार्टी माक्र्सवादी विचारधारा र सर्वहारा वर्ग पक्षधरताबाट च्युत हुँदै गएको कारणले यस्तो स्थिति आयो’, उनले भनेका थिए । उनले लामो समयपछि पार्टीमा आफ्नो धारणासमेत राखेका थिए ।

गजुरलेपछि सुषुप्त रुपमा अर्का प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर पनि अध्यक्ष प्रचण्डको कार्यशैलीसँग असन्तुष्ट मात्र छैनन् उनले सिंगो पार्टीभित्र समानान्तर गतिविधि गरिरहेका छन् । 

उनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका नेताहरुलाई समेटेर पार्टी अध्यक्षले गलत गरेको भन्दै पार्टीलाई पुनर्जागृत गराउने अभियानमा लाग्नु पर्ने बताउँदै आएका छन् । 

यदाकदा उनले पार्टी विभाजन गर्ने तयारी गर्न थालेकोसमेत चर्चा चल्ने गरेको छ । तर शर्मा निकट स्रोतका अनुसार उनी पार्टी विभाजन गर्ने मनस्थितिमा छैनन् । 

पार्टीभित्रै समानान्तर गतिविधि अगाडि बढाउने, आफ्नो गुट र स्वीकार्यतालाई फराकिलो पार्ने र उचित अवसरमा नेतृत्वका लागि पहलकदमी लिने मनस्थितिमा रहेका कारण पनि उनी यतिबेला चुपचाप बसिरहका छन् । 

मूलतः महासचिव हुन चाहेका शर्मालाई देव गुरुङलाई अघि सारेर रोकिएको थियो । उनी देशव्यापी रूपमा पार्टीभित्रका सम्भावनायुक्त युवा नेतासँग संवाद गर्ने, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई धैर्यतापूर्वक बदल्ने सोचमा रहेका छन् ।

प्रचण्डप्रति शर्मा र गजुरेल असन्तुष्ट हुँदा उपाध्यक्ष श्रेष्ठ भने अध्यक्ष प्रचण्डमाथि थप दबाब बढाएर नेतृत्वमा पुग्ने कसरतमा लागेको स्रोतको दाबी छ । 

तर श्रेष्ठ जनयुद्धकालीन नेता नभएको हुँदा पार्टीभित्र उनको स्वीकार्यता र समर्थनमा निकै कम नेता र कार्यकर्ता रहेका छन् । 

साथै मन्त्री मात्रै हुन मरिहत्ते गर्ने भएकाले उनलाई पार्टीभित्रै अवसरको खेतीमा रमाउने नेताको रुपमा लिने गरिन्छ । यता प्रचण्डले भने निरन्तरको नेतृत्वबाट बाहिरिनु पर्ने चिन्ताका कारण नेताहरुलाई २०८४ सालसम्म प्रधानमन्त्री नबन्ने आश्वासन दिएका छन् । 

पद पाए सरकारमा गइहाल्ने र सर्वहारा वर्गका हकहितलाई तिलाञ्जली दिएका प्रचण्डले पार्टीमा एक्लिनु पर्ने अवस्था आउने मूल्याङ्कन गरेरै २०८४ सम्म प्रधानमन्त्री नहुने बताएका हुन् । 

३२ सिटे भए पनि उनी डेढ वर्षसम्म सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई नचाइरहे । तर उनकै कारणले नाच्नुभन्दा बलियो सरकार बनाएर अगाडि बढ्नु पर्ने अडान लिएर अहिले एमाले कांग्रेस मिलेर सरकार चलाइरहेका छन् । 

च्याँखे दाउ थाप्ने माओवादी र रास्वपादेखि वाक्क भएका कांग्रेस एमालेले दीगो शान्तिका लागि यो कदम उठाएको बताइरहेका छन् । उनीहरुले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) लाई निष्कर्षमा पुर्याउने दाबीसमेत गरेका छन् । 

यससँगै आत्तिएका प्रचण्ड पार्टीबाट पनि एक्लिने र राष्ट्रिय राजनीतिबाटसमेत टाढा हुनुपर्ने खतरालाई मन्छाउने प्रयासमा लागेका छन् । उनले भनेका छन्, ‘२०८४ सम्म म प्रधानमन्त्री हुन्न, ८४ मा पहिलो दल बन्यो भने सोचौँला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ