arrow

पोखरा स्पोर्टस् अवार्डबाट एक लाख ८६ हजार रुपैयाँ बचत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
pokhara-sport-journalist.jpg

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डबाट कार्यक्रमबाट एक ८६ हजार दुई सय ७७ रुपैयाँ बचत भएको छ ।

मञ्चले पोखरामा स्थापना दिवस मनाउँदै गत वैशाख २८ गते आयोजना गरिएको स्पोर्टस् अवार्डको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।

स्पोर्टस् अवार्डमा विभिन्न सरकारी तथा निजी स्रोतमार्फत १८ लाख ५० हजार पाँच सय ३६ रुपैयाँ आम्दानी भएको र जसमध्ये १६ लाख ६४ हजार दुई सय ५९ रुपैयाँ विभिन्न शीर्षकमा खर्च भएको मञ्च गण्डकीका कोषाध्यक्ष तथा पोखरा स्पोर्टस् अवार्ड आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तीमगरले जानकारी दिइन् ।

आठौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आइटीएफ तेक्वान्दो खेलाडी सुस्मिता थापाले जितेका थिए ।

यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनका दिलाशा राना, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसी, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद सङ्घसंस्था वा क्लबकोतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको थियो । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलकुद पत्रकारिता गरिरहेका पत्रकारहरुको संस्था मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्ड पोखराको ब्राण्डका रुपमा स्थापित भएको बताए । स्पोर्टस् अवार्ड खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भएको उनले बताए ।

कार्यक्रममा पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका उपाध्यक्ष माधव रेग्मी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले मञ्चले गरेका कामहरुको चर्चा गर्दै खेलकुद पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका थिए ।

मञ्च गण्डकीको सातौँ स्थापना दिवसका अवसरमा केक काटेर शुभकामना आदानप्रदान पनि गरिएको थियो । सो अवसरमा पत्रकार विजय नेपालले मञ्चले स्थापना गरेको अक्षय कोषमा रु ११ हजार एक सय ११ सहयोग प्रदान गरे ।

मञ्चले विसं २०७२ देखि पोखरामा निरन्तर स्पोर्टस् अवार्ड कार्यक्रम गर्दै आएको छ । विसं २०५७ मा खेलकुद पत्रकार मञ्च कास्की स्थापना भएको थियो ।

देश सङ्घीयतामा गएसँगै विसं २०७५ मा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्वायत्त संस्थाका रुपमा मञ्चलाई विकास गरिएको हो । हाल मञ्चमा ७४ जना पत्रकार आबद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ