arrow

एकचालीस वर्षको इतिहासमा पहिलो पटक बिना अवरोध निकालियो झण्डी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
hanuman-mandir-rautahat81.jpg

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा ४१ वर्षको इतिहासमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी शान्तिपूर्ण तरिकाले निकालिएको छ।

रौतहटका प्रजिअ हिरालाल रेग्मीको विशेष पहल र सक्रियताले इशनाथ ७ घिउरा गाउँबाट शुक्रबार शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो ।

घिउरास्थित हिन्दू समुदायले मनाउने झण्डी पूर्वमा कुनै अप्रिय नहोस् भनेर शुक्रबार बिहानैदेखि सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। इशनाथ ७ घिउरा गाउँस्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिमबीच साम्प्रदायिक सद्भाव नबिग्रियोस् भनेर विशेष सजगता अपनाइएको थियो ।

प्रजिअ हिरालाल रेग्मी, नेपाली सेनाका कर्णेल किशोर श्रेष्ठ, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहसमेत फिल्डमा खटिएका थिए।

प्रत्येक वर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन जस्तै आज इशनाथ ७ घिउरा गाउँस्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजासहित त्यहाँबाट झण्डी लिएर सयौँको संख्यामा हिन्दू समुदायका मानिसहरू गाउँ भन्दा उत्तर पोखरीको डिल हुँदै छोटका घिउरा गाउँमा थिए । छोटका घिउरा गाउँमा झण्डी मिलान गरी भारतीय क्षेत्र नरकतिया पोखरीमा पुर्याइएको स्थानीय समाजसेवी आमाज्ञा ठाकुरले बताए । 

परापूर्वकालमा घिउराबाट हनुमानको पूजा गरी झण्डी गएपछि मात्र भारतीय गाउँ नरकतियामा मेला लाग्ने गरेको समाजसेवी ठाकुरले जानकारी दिएका छन् ।

शुक्रबार मन्दिरमा पूजा अर्चनापछि अपरान्ह झण्डीसहित गाउँ घुम्दै गन्तव्यसम्म पुग्दा कुनै बाधा अड्चन वादविवाद नभएको प्रजिअ रेग्मीले जानकारी दिएका छन् । 

गाउँको उत्तरतर्फ बाक्लो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले बिगतमा हिन्दूहरूले झण्डी लिएर आउने क्रममा विभिन्न प्रकारले बाधा उत्पन्न गर्दा दुई समुदायबीच झडपको अवस्था उत्पनन हुने गर्थ्यो ।

विगत वर्षहरूको जस्तो इशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस् भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

४१ वर्षअघि तत्कालीन प्रजिअ पुण्यप्रसाद लुइटेलले विभिन्न राजनीतिक दबाबमा परेर घिउरा गाउँबाट झण्डी लिएर जाने टोलीमा बढीमा ४१ जना मानिस सहभागी हुने र वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने निर्णय गरेका थिए।

सोही निर्णयको आधारमा प्रत्येक वर्ष हुने विवादलाई जरा देखिनै हटाउन केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्ष्ीय बैठक बसेर उक्त निर्णय खारेज गरी झण्डी लिएर स्थानिय मानिस मूल बाटो भएर सानो घिउरा जाने निर्णय गरेको प्रजिअ रेग्मीले बताए ।

साथै इशनाथ नगरपालिकाको समन्वयमा स्थानीय नागेन्द्र ठाकुरको संयोजकत्वमा ११ सदस्यीय झण्डी मेला व्यवस्थापन समिति गठन गरिएको उनले बताए । पूर्व गाविस अध्यक्ष सेख पहाडीका साथै मुस्लिम समुदायका अगुवाहरुलाई सम्झाई बुझाई गर्दा अवस्था अझ सहज बनाउन सफल भएको एसपी दिलीप घिमिरेले जानकारी दिएका छन् । 

उनले झण्डी मेला शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुक्रबार बिहानैदेखि ईशनाथ नगरपालिका र भारतीय नाकामा अघोषित नाकाबन्दी गरिएको थियो।

ईशनाथ नगरपालिकाकी मेयर प्रत्यासी अन्जु झाले ४१ वर्षपछि झण्डी लिएरमात्र ४१ जना जान पाउने ऐतिहासिक निर्णय खारेज हुँदा दुवै समुदायको लागि राम्रो भएकाले स्थानीयहरू खुशी भएको बताएकी छिन् । विगतमा झण्डीकै विषय लिएर दुई समुदायबीच तनाव हुँदा कसैको लागि पनि राम्रो नहुने झाको भनाइ रहेको छ।

 उल्लेखनीय छ गत फागुन महिनामा घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । 

ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल परिचालित भएका थिए । 

भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिकास्थित विगतमा झण्डीको विषय लिएर दुई समुदायबीच विवाद भएपछि हजारौँ भारतीय नागरिक आएर विवाद चर्काउने गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ