arrow

डेंगी नियन्त्रण

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
pradeep-poudel-04-31.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् । डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाइ निगरानी गर्न आवश्यक रहेको बताए । 

उनले बढी मानिसहरूको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए । उनले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्त्वपूर्ण उपलब्धि हुने बताए । उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उनले टेलिफोनको रिङटोनमा डेंगीबाट बच्ने उपायहरूको सूचना दिने व्यवस्था मिलाउने पनि बताए । उनले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगी नियन्त्रणमा सहयोग पुग्ने बताए । 

उनले भने, ‘विद्यालय, अस्पताल, कलेज, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थल यो सबैमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक छ । यो बढी मानिसहरूको उपस्थिति हुने ठाउँलाई निगरानी गरियो भने नियन्त्रणमा योगदान पुग्छ । विशेष गरी जनचेतना अभिवृद्धि गर्ने, लामो बाहुले लुगा लगाउनुपर्दो रहेछ भन्ने कुरा पनि सबैलाई बुझाइयो भने यो पनि ठूलो कुरा हुन्छ । त्यसैले जनचेतनाको पक्ष असाध्यै महत्त्वपूर्ण छ । जनचेतना अभिवृद्धि गर्ने क्रममा सङ्घ, प्रदेश र स्थानीय तहले कसरी काम गर्न सक्छन् ? डेंगीबिरुद्ध कसैले केही पोस्ट गर्‍यो भने त्यो चेतनामूलक सूचना रहेछ भने सबैले शेयर गर्ने गर्नुपर्छ । टेलिफोनको रिङटोनमा यसको बारेमा हामी सूचना दिने कुरा गर्नेछौँ । टायर नष्ट गर्ने सन्दर्भमा पनि यहाँहरूले विशेष ध्यान दिन जरुरी छ । आफ्नो कार्यालय सफा गर्ने अभियान शुक्रवार गरौँ । मन्त्रालयले तोकिदिएको नै छ, तपाईँहरूले पनि सोही समय तोकिदिए भने शुक्रवार १० देखि ११ बजेसम्म सबै प्रमुखदेखि सहयोगीसम्म काममा जुट्नुपर्छ । त्यसले चेतना अभिवृद्धि गर्न सकिन्छ । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाऔँ ।’


मन्त्री पौडेलले नसर्ने रोगहरूबाट नेपालीहरू आक्रान्त रहेको बताए । उनले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि बताए । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्त गर्न सकिने चिकित्सकहरू बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठुला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ । 

यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र सामुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरूको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढवा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने विज्ञहरू बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ