arrow

स्वास्थ्यमन्त्री पौडेलको सय दिन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
pradeep-poudel-07-08.jpg

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् । सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए ।‘संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’ उनले भने, ‘आगामी दिनमा पूर्ण सुधार महसुस हुनेछ । हामी सुधार गर्दै छौँ । नागरिकलाई महसुस गराएरै छाड्छौँ ।’

मन्त्री पौडेलले पत्रकार सम्मेलनमा क्यान्सर सेवालाई सातै प्रदेशमा पुर्‍याउने निर्णयदेखि मुटु रोग उपचार थप २ प्रदेशमा शुरु भैसककेको र सातै प्रदेशमा पुर्‍याउने निर्णय भएको सार्वजनिक गरे । नसक्नेका लागि नागरिकको जलन उपचार निःशुल्क बनाउने निर्णयदेखि स्वास्थ्य स्वयंसेविकाको यातायात निःशुल्क बनाउने निर्णय भएको कुरालाई मन्त्री पौडेलले प्रगतिका रूपमा सार्वजनिक गरे ।

उनले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा ४ सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णयलाई ऐतिहासिक भने । लामो समयसम्म समायोजन हुन नसकेका चिकित्सकहरूको दरबन्दी समस्या समाधान हुने गरी गरिएको निर्णयलाई पनि मन्त्री पौडेलले महत्वका साथ प्रस्तुत गरे ।

धेरै निर्णय दीर्घकालीन असर पार्ने खालका भएको र कतिपय निर्णयको असर देखिन थालिसकेको मन्त्री पौडेलले बताए । देशमा हालसम्म स्नायु उपचार गर्ने केन्द्र नभएकामा स्थापना गर्ने गरी प्रक्रिया अघि बढिसकेको मन्त्री पौडेलले बताए ।

‘बीमा ५ लाख पुग्छ पुग्छ, प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’

मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्य पहुँच पुग्ने गरी स्वास्थ्य बीमा सुधार आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै यसलाई सुधार गरेर लैजाने दिशामा प्रगति भइरहेको दावी गरे । आफूहरूले एउटा अवधारणा बनाएकामा पूरा मन्त्रालयले दिएको भन्दै मन्त्री पौडेलले आभार व्यक्त गरे ।

मन्त्री पौडेलले प्रधानमन्त्रीसमेत यसलाई सुधार गरेर दायरा ५ लाख पुर्‍याउने कुरामा सकारात्मक भएको बताए । प्रधानमन्त्रीज्यूले यसलाई लागू गर्न सकारात्मक सन्देश दिनुभएको छ, उनले भने, स्वास्थ्य बीमाको विषयमा दायरा बढ्छ बढ्छ । पाँच लाख पुग्छ पुग्छ ।

‘औषधीको मूल्य घट्ने गरी समायोजन हुन्छ’

मन्त्री पौडेलले नतिजा आइ नसके पनि आम नागरिकले धेरै प्रयोग गर्ने औषधीको मूल्य समायोजनका लागि प्रक्रिया थालिएको बताए । ’औषधीको मूल्य समायोजन हुन्छ हुन्छ । मूल्य समायोजन हुन्छ भनेको कुनैमा पनि बढ्दैन, उनले भने, सबैमा मूल्य घट्छ ।

‘मन्त्री हुनु अघि नागरिक थिएँ, आफूले भोगेको पीडा सम्झेर सुधारमा लागिरहेछु’

मन्त्री पौडेलले आफू विगतमा पनि सरकारी अस्पतालमा उपचार गर्ने गरेको भन्दै परिवारको उपचारका क्रममा देखेका समस्या सम्झेर सुधार अघि बढाइरहेको बताए । मन्त्री हुनु अघि नागरिक थिएँ । सरकारी अस्पतालमै मेरो र परिवारको उपचार गराइरहेको छु, उनले भने, मैले जे (समस्या) देखेँ त्यो सुधार गर्नुपर्छ भनेर लागेको हुँ ।उनले सुधारका लागि संरचनागत पद्धति र पूर्वाधार पनि सँगै आउने भन्दै यी सबै कुरालाई ख्याल गरेरै सुधार अघि बढिरहेको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले सिंहदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेको र ४० किसिमका औषधिको उत्पादनको तयारी गरिएको बताउनुभएको हो । उनले सय दिनमा आफूले संघीय अस्पतालका उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अस्पतालका उपकरणहरूको मर्मत कार्य शुरु गरेको बताए । 

शहीद गङ्गालाल हृदय केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ति बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार अहिले जारी रहेको बताए । उनले हालसम्म ४ सय भन्दा बढी सामग्रीको मर्मत सम्भार भएको तथा मर्मत सम्भार गर्नुपर्ने आवश्यक उपकरणको एभेन्ट्री तयार भएको जानकारी दिए । मन्त्री पौडेलले औजार उपकरणको सदुपयोग एवं व्यवस्थापनका लागि कार्य योजना तयार गर्न एक उच्चस्तरीय कार्यदल गठन भइ कार्य भइरहेको बताए । 

मन्त्री पौडेलका अनुसार औषधि ऐनको प्रतिस्थापन विधेयक र एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमाका लागि अवधारणा पत्र स्वीकृतिका लागि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनमा समय सापेक्षिक संशोधनलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाउनु पूर्व सम्बन्धित निकायहरूमा राय÷सहमतिका लागि पठाइएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमाका लागि निर्देशक एवं प्राविधिक कार्यसमिति गठन भई कार्य प्रारम्भ भएको छ । 

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूको शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच त्रिपक्षीय सम्झौता गरी सेवा प्रारम्भ भएको बताए । स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तार सहितको पुनर्संरचनाको प्रारूप तयार गर्न डा. शम्भु आचार्यको संयोजकत्वमा एक उच्च स्तरीय कार्यदल गठन भई समितिबाट कार्य भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ