- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरूले भिन्न ढङ्गले धारणा राखेको बताए ।
उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्न्ेकुरा नेतृत्वबाट नभनिएको बताए । उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो । उनले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गरे । उनले पार्टी अब नफुट्ने पनि दाबी गरे । उनले उपमहासचिव शर्माले उठाउनुभएका केही कुराहरू गम्भीर आशंकाका रहेको बताए ।
उनले भने, ‘स्थायी कमिटीको बैठकमा जब हामी गयौँ, केही कमरेडले अलि भिन्न ढङ्गले राख्नुभएको थियो । सबैलाई थाहा नै छ । कमरेड जनार्दन शर्माले लिखित रूपमा राख्नुभएको थियो । उनले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उनले आफ्नो मतको रूपमा राखे । यो मेरो फरक मत होइन, मत मात्रै हो । अरू साथीहरूले मुखले भने, मैले लेखेर भनेको मात्रै हो भनेर स्पष्ट पनि पारे। तर बाहिर के हो ? भन्ने आशंका र तरङ्ग पैदा भयो । स्थायी समितिको बैठकको अन्त्यसम्म आइपुग्दा हामीले त्यसलाई मुख्य रूपमा सम्बोधन ग¥यौँ । जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले त्यो भाषा त कहिल्यै भनेको थिएन । तर विभिन्न मानिसहरूले आएर सुनाउने गरेका थिए । त्यसले यदाकदा के हो ? भन्ने भएको थियो । स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ । अब एकताबद्ध भएर जाने हो । कसैले भन्दैमा त्यो आशंका राख्न परेन । उनले उठाएका गम्भीर आशंकाका विषय छन् । व्यवहारिक कुराहरू आशंकाका छन् । ती पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु ।’