arrow

बिजुलीको ब्यापार

भारतले नेपालसँग थप दुई सय ५१ मेगावाट बिजुली किन्ने [भिडियो]

बङ्गलादेशसँग राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
kulman-05-03.jpg

काठमाडौँ ।  भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्तर्देशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत् विक्री सम्झौतामार्फत विद्युत् निर्यात स्वीकृति दिएको बताए । उनले विगतमा भारतले ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट निर्यात गर्दै आएकोमा सोमबारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत् खरिद गर्ने भएको बताए । 

कार्यकारी निर्देशक घिसिङले भारतमा विद्युत् निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताए । उनले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरेको भन्दै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताए । उनले नेपाल खुद विद्युत् निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताए । उनले विद्युत् प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरू मिलाएर आयोजनाहरूबाट विद्युत् निर्यात शुरु गर्ने जानकारी दिए । उनले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत् थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत् भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको बताए । 

उनले २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत् हरियाणा निर्यात गरिने बताए । उनले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको बताए । दुवै ठाउँको लागि विद्युत्को मूल्य प्रतियुनिट भारतीय ५ रुपैयाँ ४५ पैसा (नेपाली ८ रुपैयाँ ७२ पैसा) रहेको बताए । उनले भारतसँग अझै २५० मेगावाटका आयोजनाहरू अहिले पनि सम्झौता गर्ने प्रक्रियामा रहेको बताए । उनले यो वर्षमा भारतमा १ हजार मेगावाट विद्युत् पठाउने योजनामा प्राधिकरण रहेको बताए । २५१ मेगावाट विद्युत् निर्यातको स्वीकृति १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद सम्झौताअनुरूप भएको बताए । 


उनले भने,‘भारतको विद्युत् प्राधिकरणबाट १२ वटा आयोजनाको २ सय ५१ मेगावाट विद्युत् निर्यातको लागि स्वीकृति प्राप्त भएको छ । विद्युत् प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरू मिलाएर आयोजनाहरूबाट विद्युत् निर्यात शुरु गर्छौँ । आज स्वीकृत भएको २ सय ५१ सहित ९ सय ४१ मेगावाट विद्युत् निर्यातको लागि स्वीकृत प्राप्त भएको छ । पहिला ६९० मेगावाट १६ वटा आयोजनाबाट थियो । आज १२ वटा आयोजनासहित १८ आयोजनाहरूबाट भारतमा विद्युत् निर्यात हुने भएका छन् । स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत् थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत् भारत निर्यात गर्नसक्छौं । दशैँको समयमा नेपालमा विद्युत्को माग कम हुने हुँदा त्यो बेलामा भारतमा हजार मेगावाट भन्दा बढी विद्युत् निर्यात गर्नसक्छौं । २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत् हरियाणा पठाउँदै छौं । बिहार र हरियाणाको लागि मध्यकालिक सम्झौताअनुसार पठाउन लागिएको हो । बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता रहेको छ । दुवै ठाउँको लागि विद्युत्को मूल्य प्रतियुनिट भारतीय ५ रुपैयाँ ४५ पैसा रहेको छ । जुन नेपाली रुपैयाँ ८ रुपैयाँ ७२ पैसा हुन्छ । अझै २५० मेगावाटका आयोजनाहरू अहिले पनि सम्झौता गर्ने प्रक्रियामा छन् । यो वर्ष १ हजार मेगावाट विद्युत् पठाउन सक्छौँ । चालु आर्थिक वर्षमा कम्तीमा पनि २५ देखि ३० अर्ब विद्युत् निर्यात हुन्छ भन्ने अनुमान छ । २५१ मेगावाट विद्युत् निर्यातको स्वीकृत १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद सम्झौताकै निरन्तरता हो । अहिले मध्यकालिक सम्झौता भएको छ । सरकारले २५ वर्षे दीर्घकालीन सम्झौता पनि गर्ने तयारीमा रहेको छ ।’ 


भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । पछिल्लो तीन वर्षमा भारतले नेपालबाट विद्युत् निर्यातको परिणाम निरन्तर रूपमा वृद्धि गरिरहेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् विक्री गर्ने रहेको छ । 

सम्झौताको पहिलो वर्षमा १ हजार मेगावाट विद्युत् निर्यातको स्वीकृति पाइसकेको छ । नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने आधार तय भइरहेको छ । त्रिदेशीय सम्झौता अनुरूप बङ्गलादेशलाई ४० मेगावाट विद्युत् विक्री गर्ने सम्झौता अन्तिम चरणमा पुगेको छ । बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ