arrow

छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
money.jpeg.jpeg

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा  बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो । 
  
आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले  हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिइन्।

“आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिएको छ”, उनले भनिन्, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच  हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।” 
 
छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन् ।  

“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ”, उनले भने, “छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।” 

उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैङ्क खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ