arrow

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
gosai-kunda_b.jpg
फाइल तस्बिर

रसुवा । गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षीय विपीन बर्ताेवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।

गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए । जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमि आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पुर्याएका थिए । उद्वारका लागि ठाउँ-ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

जनैपूर्णिमामा हेलिकप्टरबाट गोसाइँकुण्ड जान खोजेका तीर्थयात्री भने प्रतिकुल मौसमका कारण जान सकेनन् । खराब मौसमले उडान गर्न नसकिएको अल्टिच्युड एयरका निर्देशक एवं वरिष्ठ क्याप्टेन विवेक खड्काले जानकारी दिए । 

नागपञ्चमीदेखि जनैपूर्णिमासम्म एघार हजार तीर्थयात्री गोसाइँकुण्ड पुगेको र यस क्षेत्रमा आठ करोड बराबरको व्यापार भएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । 

मेलामा व्यापारीले महङ्गो मूल्य असुल गरेको गुनासो बढेको छ । गोसाइँकुण्ड मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ