arrow
ADVERTISEMENT

त्रिविमा कृत्रिम सुरक्षा धम्की सिर्जना गरी अफवाह फैलाइएको नेविसंघको जिकिर, आरोप फिर्ता लिन चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
nebisangh-flag.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा धम्की सिर्जना गरी अफवाह फैलाइएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बताएको छ । 

नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीहरूले त्रिवि परिसरमा कृत्रिम सुरक्षा धम्की सृजना गरी अफवाह फैलाएको भन्दै उक्त घटनालाई नेविसंघले नजिकबाट नियालिरहेको बताएका छन् ।

नेविसंघले अमुक आयातित पात्रलाई समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न यस्तो प्रपञ्च रचेको समेत ठोकुवा गरेको छ । विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागीय प्रमुख नियुक्त गर्नुपर्नेमा कृत्रिम सुरक्षा चुनौती देखाएर झुटको खेती गर्ने त्रिविका पदाधिकारीहरूलाई कारबाही गर्नुको साटो शिक्षामन्त्री विद्या भट्टराईले उल्टै गलत सूचना सामाजिक सञ्जालमा राखेको नेविसंघले विज्ञप्तिमार्फत जनाएको छ । 

विश्वविद्यालयभित्र कुनै पनि प्रकारको सुरक्षा चुनौती नभएको स्वयम् नेपाल प्रहरीले नै पुष्टि गरिसकेको जनाइएको र यस्तो अवस्थामा नैतिकताको आधारमा विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा किन नगर्ने ? भन्दै प्रश्नसमेत गरिएको छ । 

विद्यार्थी तर्सिने गरी बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरी आतङ्क मच्चाउनु लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति प्राडा केशरजंग बराल विगत १५ दिनदेखि डेंगी सङ्क्रमणले घरबाटै विश्वविद्यालय सञ्चालन गर्ने तर असुरक्षाको आरोप नेविसंघलाई लगाउनु गलत भएकोसमेत विज्ञप्तिमार्फत जनाइएको छ । 

बिना प्रमाण बदनाम गराउन उद्धत विश्वविद्यालय पदाधिकारीलाई अविलम्ब झुट्टा आरोप फिर्ता लिन आग्रह गर्दै नेविसंघले त्यसो नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ