arrow

आयल निगमले भन्यो- विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण असम्भव [भिडियो]

प्रधानमन्त्रीको निर्देशन अनुरूप काठमाडौं उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
nepal-oil-corporation-tanker.jpg

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले यस्तो बताएका हुन् । 

उनले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए । उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको बताए । यद्यपि प्रधानमन्त्रीको निर्देशन अनुरूप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताए । उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण सम्भव नभएको बताए । उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरूले तुरुन्त काम अगाडी बढाउने बताए । उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भए पनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको बताए । 

उनले भने – ‘यो समितिले नार्कलाई एउटा निर्देशन तुरुन्त जग्गा उपलब्ध गराइदिनु । यति ढिला किन गर्नुभयो भनेर एउटा निर्देशन दिनुभयो भने असाध्यै राम्रो हुन्थ्यो । हामी त तयारी अवस्थामा छौँ । हामीले डिपिआर गर्न पाइरहेका छैनौँ । गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ । डिपिआर गर्न शुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन । हाम्रो जग्गाका इस्युहरु छन् । हाम्रो ३२ रोपनी जग्गा यतापट्टि छ । ५ रोपनी भाडामा लिएका छौँ । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्यो‍ । हामी सल्ट्याउन तयार छौँ । जग्गा तुरुन्तै उपलब्ध गराउँछौ भन्ने विषय आइदियो भने सहज हुन्थ्यो । जग्गा उपलब्ध नभएकोले हामीले काम अगाडी बढाउन नसकेको अवस्था छ ।’



नयाँ