arrow

सफलताको कथा

नेपालमा उद्योग गर्दा खुशी छु 

logo
शिवलाल लम्साल, 
प्रकाशित २०८१ भदौ २२ शनिबार
shivalal-lamsal-81-5-22.jpg

मध्यम स्तरको परिवारमा जन्मिएकाले मेरो खासै ठूलो सपना थिएन । तथापि परिवारका सबै सदस्यले पेटभर खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो र सबै खुशी भएको हेर्ने चाहना भने थियो । भगवानले सबैको चाहना पूरा गर्नु हुनेछ भन्ने मलाई लाग्थ्यो र परिवारका सबै सदस्यलाई एक दिन खुशी मिल्ने छ भन्ने सोचाइका साथ बालापनका दिनहरु व्यतित भए ।

युवा अवस्थामा प्रवेश पश्चात रोजगारी खोज्ने क्रममा दक्षिण कोरिया भन्ने देश मेरो लागि वरदान नै सावित भएर आयो। मलाई कोरियाले मेरो आवश्यकता अनुसार दिने मात्र काम गर्यो । कोरियासँग कुनै गुनासो रहेन र भविष्यमा पनि गुनासो हुने छैन । कोरियाले मजस्तै लाखौँ नेपाली युवाहरुलाई रोजगारको अवसर दिएर भुल्न नसकिने गुन लगाएको छ ।

कामको खोजीमा भौँतारिएका बखत सन् २०१० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत वैधानिक रुपमा रोजगारीका लागि कोरिया जाने अवसर मिल्यो र सोही अवसरले मेरा सबै किसिमका मनोकामनाहरु पूरा भए । शुरुआतमा कोरियाको ख्यङनाम क्षेत्रमा १ वर्ष काम गर्ने अवसर मिल्यो। 

अर्को वर्षबाट छिन्जु सहरमा काम गर्ने अवसर मिल्यो। छिन्जुमा अवस्थित एकै कम्पनीमा लगातार ४ वर्ष काम गर्दा यथेष्ट धन आर्जन गर्ने अवसर मात्र नभै जीवन जिउने कला सिक्ने मौका मिल्यो। धेरै पैसा कमाउनु पर्छ भन्ने लागेर कम्पनीमा उपलब्ध भएसम्म अतिरिक्त समय काम गरी राम्रो पूँजी आर्जन गर्न सफल भएँ ।

मैले कोरियामा रहँदा एक्लोपनको महसुस भएन । पारिवारिक मायाको कमी हुन नदिएकोमा कम्पनीका साहुजीलगायत सम्पूर्ण सहपाठीप्रति कृतज्ञता व्यक्त गर्दछु । उहाँहरुबाट मैले प्राप्त गरेको माया तथा सद्भाव आज पनि सम्झिरहेको छु। मलाई कोरियामा रहँदा साहुजीसँगै काम गरेको,सँगै खाना खाएको लगायतका सकारात्मक पक्षले विभेद भन्ने कहिल्यै महसुस भएन । 

कोरिया आज मेरो कर्मभूमिको स्थानमा राख्न पाएकोमा गर्व गर्दछु । कोरियामा रहँदा पूँजी आर्जन मात्र नभै काम गर्ने संस्कार सिकेँ । समयको महत्व बुझेँ, मेहनत गरेमा व्यवसायमा सफल हुन सकिन्छ भन्ने बारेमा पनि ज्ञान लिएँ । योजना बनाएर कामको थालनी गर्ने तथा सकारात्मक सोचाइ राख्नेहरु व्यवसाय गर्दा सफल हुन सक्छन् भन्ने शिक्षा पनि मलाई मिल्यो।
 
कोरियाबाट आर्जन गरेको सीप,भोगाइ तथा पूँजीले नेपाल फर्किएर व्यवसाय गर्ने योजना बनाएर सन् २०१६ मा नेपाल फर्किएँ । नेपाल फर्किएको १५ दिन पश्चात ब्याग (झोला) बिक्री गर्ने व्यवसाय शुरु गरेँ र झण्डै ५ वर्ष सोही व्यवसायमा मेहनेत गरेँ । त्यस व्यवसायलाई दीर्घकालीन व्यवसायको रुपमा लिएको थिइन । तथापि त्यस व्यवसायबाट पनि राम्रो सफलता र अनुभव हासिल गरेँ ।
 
झोलाको व्यवसाय गर्दा नै विगतदेखि मेरो सोचाइमा रहेको आफ्नै उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने उद्धेश्य अनुसार अगाडि बढेँ । कोभिड महामारीको बेला कुकिज, विस्कुट लगायतका खाना सम्बन्धी परिकार उत्पादन गर्ने कम्पनी स्थापनाका लागि आवश्यक पूर्वाधार तथा मेसिको व्यवस्थापनतर्फ ध्यान केन्द्रित गरेँ। 

सन् २०२१ बाट स्वस्तिक फुड प्रडक्ट्स नामक उद्योग सञ्चालन गरिरहेको छु । हाल उद्योगमा १८जना भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छ न्। त्यसैगरी २५ वटा डिलरहरुले हाम्रो कम्पनीको उत्पादन ग्राहक माझमा बिक्री वितरण गरिरहेका छन् । अप्रत्यक्ष रुपमा रोजगार पाउने व्यक्तिको संख्या निकै धेरै रहेको छ।

नेपालमा रोजगारी सृजना गरेर मालिकको भूमिका निभाउनका लागि आवश्यक पूँजी तथा आफ्नो व्यवसाय चलाउने प्रेरणको श्रोत भने कोरियाबाट मिलेको हो। यस विषयलाई सम्बन्धित व्यवसायीहरुसँग भलाकुसारी गर्दा खुलाउने गरेको छु । म आज एक सफल व्यवसायीको भूमिकामा रहनुको देन कोरियालाई दिन चाहन्छु। व्यवसाय गर्न तथा सफलताको लागि परिवारका सदस्यको साथ चाहिन्छ भन्न चाहन्छु । एकल प्रयासमा भन्दा अग्रज व्यवसायीहरुको सल्लाहमा निर्णय लिँदा व्यवसाय सफल हुन्छ भन्नेमा विश्वस्त भएको छु।

अन्त्यमा, धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । बल र उमेरले साथ दिँदासम्म उनीहरुलाई विदेश बस्नका लागि सहज हुनेछ। तर उमेर ढल्कदै गए पश्चात अधिकांश व्यक्तिले मातृभूमिमा नै फर्कन चाहन्छन् भन्ने लाग्छ । 

त्यसैले मातृभूमिले तपाईहरुलाई पर्खिरहेकी छिन् र कहिल्यै भेदभाव पनि गर्ने छैनन् । विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई स्वदेश फर्किएर स-साना व्यवसाय शुरुआत गर्नका लागि आग्रह गर्दछु । विदेशमा सिकेको सीप र पूँजीको केही अंश मात्र भए पनि मातृभूमिमा लगानी गरेमा वरदान मिल्ने छ भन्ने लाग्छ ।

देशमा व्यवसाय गर्ने वातावरण मिलाउनका लागि नेपाल सरकारले सकारात्मक भूमिका खेलोस् भन्न चाहन्छु । मलाई नेपालमा उद्योग गर्दा खुशी मिलेको छ। हाम्रो देशमा सम्भावनाहरु प्रचुर मात्रामा रहेका छन् । 

त्यसैले धेरै व्यक्तिले उद्योग सञ्चालन गरी रोजगारी सृजना गर्न सकेमा देशको विकासमा टेवा पुग्छ भन्ने लागेको छ। म नेपालमा उद्यमी भएकोमा खुशी छु। अब खुशी हुने पालो तपाईंको। देशलाई सबैको योगदानको खाँचो छ। (‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ