arrow
ADVERTISEMENT

मधेसलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय हब बनाउन लागिपर्ने प्रचण्डको आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
prachanda-81-5-26.jpg

महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको उत्तरी क्षेत्रलाई पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने बताएका छन् ।

मंगलबार होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले गौतम होटलमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको उत्तरी क्षेत्र पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण भएको हुनाले विकास गर्ने प्रशस्त आधार देखिएको बताए ।

मधेस प्रदेशकै अग्लो मानिएको बर्दिवास ११ को चनौटे डाँडाको विविधतायुक्त हावापानी, पाटुको मध्यपाषण युगको हतियार कारखाना, गिद्व वासस्थान लगायतका यहाँका ठाउँहरु पर्यटकीय उर्वर क्षेत्र रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

चनौटे डाँडामा त म पनि  पुगेको छु । त्यहाँ पुगेपछि म आफैले पनि अनौठो  महसुस गरेको थिएँ’ उनले भने, ‘यी सबै ठाउँहरुको पर्वद्वन र पर्यटकीय गन्तव्य बनाउन प्रतिपक्षमा नै भए पनि पहल गर्नेछु ।’

पर्यटन व्यवसायीहरुले १२ हजार वर्ष पहिला हतियार कारखाना रहेको भनिएको पाटुलाई पुरातात्त्विक पर्यटन केन्द्र घोषणाको लागि  सरकारलाई पहल गरिदिन पनि अनुरोध गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, महोत्तरी अध्यक्ष गुन्ज कार्की, माहासचिव नारायण घिमिरे लगायतले दिगो विकासको लागि पर्यटन उधोग स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष कार्कीले बन्जी जम्प, जिपलाईन जस्ता परियोजना निर्माण गरेर पर्यटकहरुलाई आकर्षित गर्न सकिने धारणा राखे ।

छलफलमा उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले अध्यक्ष प्रचण्डलाई रातु–राईमन्डल पर्यटन विकासको लागि ध्यानाकर्षण पत्र नै बुझाएका थिए भने स्थानीय पत्रकारहरुले पर्यटकीय गन्तव्यहरुको विषयमा ध्यानाकर्षण गराएका थिए ।

धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा पर्यटकीय  दृष्टिकोणले मधेस प्रदेश ठूलो पर्यटकीय हब बन्न सक्ने बताउँदै अध्यक्ष प्रचण्डले छलफलमा प्राप्त भएका सुझावहरुलाई गम्भीर रुपमा लिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ