arrow
ADVERTISEMENT

नाकामा सावधानी नअपनाउँदा मंकिपक्सको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
mpox-india.jpg

कञ्चनपुर । पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा मंकिपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा मंकिपक्स सङ्क्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन । 

भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् । भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो । 

गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेंगी, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा मंकिपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउँछन् ।

“हामीसँग उपकरण छैन । मंकिपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ”, उनले भने, “नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्छौँ । लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ ।” उनका शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको छ । हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उनको भनाइ छ ।

भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ । पैदल हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामी बताउँछन् । “गाडीमा आउनेहरू नाकामा रोकिँदैनन् । सिधै जान्छन् । त्यसैले उनहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन”, उनले भने ।

गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन् । कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण सङ्क्रमणको जोखिम छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ ।

“मंकिपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन । स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ । हामीले त्यहीअनुसार गरिरहेका छौँ”, उनले भने, “स्क्रिनिङमा शङ्कास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेका छौँ ।”–
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ