arrow
ADVERTISEMENT

ऐतिहासिक संस्कृति रामलीला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
ramlila.jpg

बाँके । बाँकेको नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सवको संरक्षण गर्दै एक सय ५७औँ संस्करणको तयारी शुरु भएको छ । 

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५७औैँ संस्करणका लागि आवश्यक तयारी शुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै अध्यक्ष कनोडियाले यसवर्ष भारतको बृन्दावनबाट कलाकार ल्याउने गरी तयारी गरिएको जानकारी दिए । “रामलीला मञ्चन गर्न बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याउँछौँ । नेपालमा कलाकार उत्पादन गर्ने प्रयास गरे पनि सफल हुन नसकेपछि भारतबाट ल्याउने गरेका हौँ”, उनले भने ।

आगामी वर्षका लागि स्थानीयस्तरमा कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने योजना बनाइएको अध्यक्ष कनोडियाले उल्लेख गरे । उनका अनुसार एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने गर्दछ । 

“समुदायस्तरबाट एक सय ५० वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिने गरिएकाले यसलाई हामीले पनि निरन्तारता दिँदै आएका छौँ, यो प्रयास चुनौतीपूर्ण भने अवश्य छ”, उनले भने । उनका अनुसार मञ्चनको सतप्रतिशत खर्च समुदायको सहयोगबाट हुने गरेको छ ।

समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै कनोडियाले यसमा स्थानीय सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरे । 

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एकसय ५३ र एकसय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतिकका रुपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन हुन्छ ।

चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा स्थानीयका साथै भारतका दर्शक पनि मध्यरातसम्म सहभागी हुने अध्यक्ष कनोडियाले जानकारी दिए । उनका अनुसार धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कानोडियाले बताए । उनका अनुसार विश्वनाथ टण्डन, बद्रिनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुवात गरेका थिए । 

नेपालगञ्जको परम्परालाई जोगाइ राख्न सहयोग सङ्कलन गरेर महोत्सव गर्दै आइएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताए । उनका अनुसार विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीका साथै सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ