- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागुऔषध गाँजा बिक्री वितरण गर्ने एक जना साधु पुजारी पक्राउ परेका छन् ।
देवाही गोनाही नगरपालिका ९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवका छोरा ६५ वर्षका पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।
मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सूचनाअनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा लुकाइ राखेको प्लाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
लगत्तै पुजारी यादवलाई गाँजासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाइएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
साधु यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।
यसअघि गाँजा बिक्री वितरण गर्ने एकजना साधु फतुवा विजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए ।