arrow

सहकारी प्रतिवेदनले दोषी बताइसक्दा रवि लामिछानेले दिउँसै रात पार्न खोजे – डा महत

logo
सुनिल आउजी,  
प्रकाशित २०८१ असोज ४ शुक्रबार
prakashsharan-mahat-81-6-4.jpg

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता समीकरण  चौरासी सालसम्म नै जाने बताएका छन् ।  

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले अहिलेको समीकरण फेरबदल हुने कुरा निराधार भएको र सामाजिक संजालमार्फत भ्रम पार्न खोजिएकाले त्यसका पछि नलाग्न उनले आग्रह गरे । 

पत्रकार बोल्दै प्रवक्ता महतले रास्वपा सभापति रवि लामिछाने आफ्नो पक्षमा भीड जम्मा गर्न विभिन्न प्रोपोगाण्डा अपनाइरहेको टिप्पणी गरेका छन् । 

विभिन्न प्रोपोगण्डा गरेर कालोलाई सेतो बनाउन लामिछाने लागिरहेको उनले बताएका हुन् । यसरी सहकारी ठगी पुष्टि हुने खालको प्रतिवेदन आइसक्दा शिर निहुरिनु पर्नेमा झन् क्लिन चिट पाएँ भनेर हिँड्नु गलत रहेको महतको तर्क छ । 

सहकारी उच्च स्तरीय छानबिन समितिले गोरखा मिडियाको सम्पूर्ण खर्च सहकारीको पैसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दासमेत क्लिन चिट पाएँ भन्नु मूर्खता रहेको उनले बताए ।

रवि लामिछानेसहित चार जनाकै सिफारिशमा सहकारीको रकम गोरखा मिडियामा आएको प्रस्ट भएर समितिले उनीसहित ४ जनालाई कारबाहीका लागि सिफारिश गरिसकेको उनले बताए ।

सहकारीको रकम लिएर प्रबन्ध निर्देशकले पैसा कहाँबाट आयो थाहा छैन भन्नु गलत रहेको तर्क गर्दै चर्को भाषणले आफूलाई चोख्याउन खोजेर नचोखिने उनको तर्क थियो ।

यसमा सहकारी ऐन र सगंठित अपराधसहित ४ वटा मुद्दा आकर्षित हुने भन्दै प्रतिवेदनमाथि सरकारले आवश्यक अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने महतले बताए । 

प्रतिवेदनले लामिछाने दोषी रहेको बताइसक्दा उनीहरुले जनतालाई भ्रमित पारेर दिउँसै रात पार्न खोजेको डा महतले बताए ।

प्रवक्ता महतले सरकार बन्यो की अब ढल्छ भन्ने सधैँको हल्ला अहिले पनि चलेको बताए । देशमा देखिएको अस्थिरता रोक्न दुई ठूला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने दाबी गर्दै उनले वर्तमान समीकरणबाटै शेरबहादुर देउवा करिब दुई वर्षपछि प्रधानमन्त्री बन्ने बताए । 

न्यूनतम साझा कार्यक्रमसमेत आपसी समझदारीबाट आएको बताउँदै उनले यो समीकरण निरन्तरताको विकल्प नरहेको बताए । प्रवक्ता महतले गेटा मेडिकल कलेजको अवधारणालाई यहाँकै जनताले विश्वविद्यालय माग गरेपछि ढिलाई भएको बताए । 

गेटामा मेडिकल कलेज बनाउने गरी काम अगाडि बढ्दा विश्वविद्यालय बनाउन दबाबा आएपछि सोही अनुसार नयाँ प्रक्रिया शुरु भएको बताउँदै उनले नयाँ प्रक्रिया शुरु गर्दा स्वभाविक रुपले ढिलाई हुने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ