गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानमा कक्षा
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
816
Shares
रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कयौँ विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन् ।
गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्यधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिकास्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए ।
जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका एकजना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।
विद्यालयमा गर्मीबाट विद्यार्थीहरुलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६ः३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीकै विद्यार्थीमा समस्या देखिन थालेपछि चन्द्रपुर नगरपालिकाले आजदेखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।
त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६ः३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् ।
त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि बिद्यालय सञ्चालनको समय बिहान ६ः३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पन्डितले बताएका छन् ।
१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ ।