arrow

उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
adiling-kusheshwar-mahade-temple.jpg
तस्बिर : फाइल

सिन्धुली। सुनकोसी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फेसका छन्। गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रवार रातिदेखि बाढीमा फसेका हुन्। 

सुनकोसी नदीमा जल सतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताए। बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोसी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उनले उल्लेख गरे। “अहिले हामी गुरुकूलको माथिल्लो तलामा छौँ। कतैबाट उद्धारको पहल भएको छैन”, उनले भने।

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए। “हामी उहाँहरूको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गए राति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन”, उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रवारदेखि पहल गरिरहेको जानकारी दिए।

“यहाँबाट उद्धारमा खटिएको टोलीले उहाँहरूको अहिलेसम्म उद्धार गर्न नरहेको छैन। काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर झिकाउने पहल भइरहेको छ”, उनले भने, “अहिले मौसम प्रतिकूल भएकाले हेलिकप्टर पनि आउन सकेको छैन। मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर उडानमार्फत उद्धार हुन्छ।”

रोशी र सुनकोसी नदीमा आएको बाढीले सुनकोसी गाउँपालिका–५ मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन्। साथै दुम्जाका पाँच घर बगाएको छ। दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रवारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

सुनकोसी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन् । अविरल वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।



नयाँ