arrow

कोशीमा ११ को मृत्यु, नौ बेपत्ता 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ असोज १२ शनिबार
fikkal-mandir-81-6-12j.jpg
तस्बिर – माईखोलामा आएको बाढीले क्षतिग्रस्त इलाम नगरपालिका-१० राजदुवालीस्थित इलाम-दानाबारी सडक ।

मोरङ । दुई दिनदेखि लगातारको वर्षाले कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परेर हालसम्म ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ । धनकुटा र सोलुखुम्बुमा २र२ तथा इलाम र उदयपुरमा १–१ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए ।

उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघको ट्रस्ट भत्किँदा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा डेरा बस्थिन् ।

फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार उनी राजकुमार नेम्वाङको घरमा डेरा बसेर फुरुङ्गा हाइड्रोपावरमा काम गर्थे ।

फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घरनजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमा पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षिया बुहारी रुपा मगरको मृत्यु भएको हो ।

त्यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ की ३२ वर्षीया आशा तामाङ र उनी आमा ५० वर्षीया रामुकुमारी तामाङको मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका– १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मइतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएका जानकारी एसएसपी दाहालले दिए ।

यता बाढी र पहिरोमा परेर सबैभन्दा धेरै पाँचथरमा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् ।

फिदिम–१ का राजकुमार नेम्वाङको घरमा डेरा लिएर बस्ने उनीहरु सबै जनाले फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् ।

झापा गौरीगन्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।

कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवा खोलाले बगाएर २ दिनदेखि बेपत्ता छन् ।

बाढी र पहिरोमा परेर ४ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धनकुटामा २ तथा ओखलढुंगा र पाँचथरमा १-१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ