arrow

सुधीर शर्माका दुई कृतिमाथि विमर्श

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
sudheer-sharma.jpg

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ ।

शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरिएको हो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुवै पक्षले फाइदा लिन सक्ने धारणा राखे ।

कृतिले नेपाललाई चीन र चीनलाई नेपाल चाहिनुका कारणबारे पुस्तकमा शर्माले चर्चा गरेका बताउँदै मुल्मीले सन्तुलित कूटनीतिलाई बढावा दिनुपर्नेमा कृतिले जोड दिएको बताए ।

नेपाल अर्को सिक्किम नहोस् भन्नेमा कुरामा चिनियाँको चासो रहेको उनले बताए । भारत र चीनलाई जोड्ने कडीका रूपमा नेपालले भूमिका खेल्नुपर्ने धारणा किताबमा आएको मुल्मीले चर्चा गरे ।

साहित्यकार सरस्वती प्रतीक्षाले विशाल अर्थतन्त्र भएका चीन र भारतका बिचमा रहेर नेपालले कसरी आर्थिक फड्को मार्न सक्छ भन्ने सन्दर्भमा सुधीर शर्माले कृतिमा चर्चा गरेका बताइन् ।

मध्यस्थ व्यापारको केन्द्रमा रहेर दुवै छिमेकी देशलाई जोड्ने रेलसेवा सञ्चालन गर्ने हो भने नेपालले आर्थिक विकास गर्न सक्ने विचार कृतिमा आएको उनको भनाइ थियो ।

नेपाल-चीन-तिब्बतको सम्बन्धमा इतिहासदेखि वर्तमानसम्मका पाटालाई केलाएर दुई गम्भीर किताब शर्माले लेखेको उनले बताइन् ।

इतिहास लेखनको शास्त्रीय सिद्धान्तलाई अतिक्रमण गरेर आफूलाई साहित्यको नजिक उभ्याएर लेखिएका हुनाले दुवै कृति आम पाठकका लागि पठनीय रहेको प्रतीक्षाको ठम्याइ थियो ।

पत्रकार तथा लेखक शर्माले आफूले कृतिमा आफ्नो ‘भ्यूज’ नभई अध्ययन र अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेको बताए ।

यसअघि ‘प्रयोगशाला’ लेखेका उनले सो कृतिमा दक्षिणतिर हेर्न खोजेको र यी दुई कृतिमा चाहिँ उत्तरतिर हेर्न खोजेको जानकारी दिए ।

लेखन सुरु गर्दा दुइटा किताब लेख्ने विचार नभए पनि लेख्दै जाँदा दुई कृति लेख्नुपर्ने विषयवस्तु आएकाले दुई कृतिका रूपमा प्रकाशन गरिएको उनले बताए ।

चीनलाई आम नेपाली र अनुसन्धाताका रूपमा बुझ्न खोजेको र बुझेको कुरा प्रस्तुत गरेको उनको भनाइ थियो ।

कतिपय विषयलाई आगामी अनुसन्धाताका लागि बाटो खोल्ने गरी छोइएको बताउँदै उनले खोज गर्नुपर्ने इतिहासदेखिका थुप्रै विषयवस्तु रहेका अनुभव सुनाए ।

शर्मासँग सोसाइटीका निवर्तमान अध्यक्ष केशवशरण लामिछानेले संवादसमेत गरेका थिए ।

पुस्तक छनोट समितिका संयोजकसमेत रहेका लामिछानेले पोखरावरपरका पाठकका लागि रुचिकर विषय भएकाले पनि कृति छनोट गरिएको जानकारी दिए ।

‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ भने समय सन्दर्भअनुसार विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ