arrow

बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
hydro-power-house-damage-ashoj-2081-flood.jpg

काठमाडौँ। अविरल वर्षापछि आएको बाढी पहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरूको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो।

हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आकलन गरेको छ। 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए।

आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौँको सहयोग लिन लागिएको छ। कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ।

बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ। वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका बाढी पहिरोका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ।

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्ण रूपमा डुबेको छ। खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई समेत गराएका छन्।

बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ। सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो। हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ।

पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ। गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनः निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो।

साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ। सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ।

इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ। फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँच मार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ। इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली  एकको क्याम्प हाउस र पहुँच मार्गमा क्षति भएको छ। निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ।

हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँच मार्गमा क्षति भएको छ। यस्तै, बाढीका कारण प्रसारण लाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ।

सभाखोला बी जलविद्युत् आयोजनाको पहुँच मार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ। यसै गरी पावर हाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ। इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँच मार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ।

बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ। कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ। आयोजनाको दुई वटा वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ। त्यस्तै, बेली ब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ।

बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ। सोही कारण शनिवार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ