arrow

सहकारी ठगीमा रविलाई जोगाउन महान्यायाधीवक्ताले चालेको कदम स्वीकार्य नहुने कांग्रेस नेता शिवाकोटीको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
ajayababu-shiwakoti-81-6-13.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी ठगीमा रवि लामिछानेलाई जोगाउन महान्यायाधीवक्ताले चालेको कदम स्वीकार्य नहुने बताएका छन् । 

उनले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालमा नरहेका अवस्थामा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाईसमेत थाहा नदिइ चालिएको कदम ससंकित रहेको बताए । 

नेपाल प्रेस युनियन तनहुँले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता शिवाकोटीले महान्यायाधीवक्ताको कार्यालयले जुन किसिमले निर्णय सहकारीसँग भएर गरेको छ त्यसले आशंकाको वातावरण बनाएको बताएका हुन् । 

उनले भने, ‘खासगरी सत्तारुढ गठबन्धनको नेतृत्वलाई पनि त्यसबारे जानकारी छैन । सरकारको नेतृत्व गरेका कार्यबाहक प्रधानमन्त्रीलाई पनि यसको जानकारी छैन । गृहमन्त्रीलाई पनि यसको बारेमा महान्यायाधीवक्ताले निर्णय गरेको जानकारी गराउन नआइसकेको अवस्थामा यो निर्णय किन आयो कसरी आयो भन्ने बारेमा नेपाली कांग्रेस गम्भीर भएर आफ्नो धारणा बनाउनु पर्ने स्थिति बनेको छ ।’

उनले नेपाली कांग्रेसले यो विषयलाई गम्भीरपूर्वक लिएको विश्वास लिएको बताउँदै भने, ‘कतै न कतै कुनै व्यक्तिप्रति सफ्ट कर्नर बनाउन खोजेको हो कि । खासगरी अहिले सहकारी प्रकरणमा जोडिएका रवि लामिछानेलाई कतै न कतै सफ्ट कर्नर गर्नका लागि त महान्यायाधीवक्ताको कार्यालयका तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले यो निर्णय लिएर आएका छन् यसले लामिछाने सहितका केही मान्छेहरुलाई जोगाउने नियतले आइराखेको त छैन भन्ने विषयमा नेपाली कांग्रेस निकै गम्भीर भएको छ ।’

उनले अमेरिकामा रहेका प्रधानमन्त्री ओली नेपालमा आउन बित्तिकै कांग्रेसले धारणा बुझ्नु पर्ने बताए । 

नेता शिवाकोटीले भने, ‘प्रधानमन्त्रीको धारणा के हो प्रधानमन्त्रीको कन्सेन्ट बिना यो कुरा आएको हो कि । आएको हो भने यसलाई तत्काल खारेज गर्नुपर्यो । हैन भने यसमा के हो प्रधानमन्त्रीको धारणा भन्ने कांग्रेसले सोध्छ भन्नेमा म विश्वस्त छु ।’

उनले कांग्रेसले यो विषय उठाएर तार्किक निष्कर्षतिर पुर्याउन लागिरहेको बेलामा अचानक आएको यो कुराले सशंकित बनाएकोसमेत बताए । 

उनले रवि लामेछानेको स्वयं पूर्ववर्ती मुद्दामामिलामा वकालत गरिरहेको अवस्थामा रमेश बडाल वकिलको भूमिकामा रहेको र उनी कतै त्यो भूमिकाबाट बाहिर निस्कन नसकेको हो कि भन्ने शंका गरे । 

उनले भने, ‘कहीँ न कहीँ प्रधानमन्त्री नभएको बेलामा अथवा सत्तारुढ गठबन्धनका दलहरु खासगरी कांग्रेससँग सल्लाह नगरी ल्याउनुको पछाडि के हो भन्ने बारेमा सोध्ने नै छ । कांग्रेसको सिरियस कन्सर्न छ भन्ने कुरा पनि जनाउन चाहन्छु ।’

यद्यपि हाम्रो प्राथमिकता अहिले बाढी पहिरो भएको जनाउँदै नेता शिवाकोटीले भने, ‘प्राथमिकता बाढी पहिरो हुँदाहुँदै पनि राज्यका अरु नियमित कर्महरु पनि छन् । ती कर्महरु अन्तर्गत यो कुरा पनि पर्छ ।’


 



नयाँ