arrow

उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगे स्वास्थ्यमन्त्री

विपद्‌मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ- स्वास्थ्यमन्त्री [भिडियो]

सबै नागरिकहरूलाई निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
pradeep-poudel-06-18.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्‌मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्‌बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताए। 

उनले उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए । उनले सरकारी अस्पतालहरूमा विपद्‌बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको र विपद्‌बाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए । 

उनले कतिपय नागरिकहरूलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुन सक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे । उनले विपद्‌बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।
 
उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरूमा त्यो व्यवस्था गरिएको छ । निजी अस्पतालाहरुलाई पनि विपद्‌मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्‌मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन् । जस्तोसुकै जटिल समस्याको पनि उपचार हुनेछ । जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला । सम्पूर्ण उपचार निःशुल्क हुन्छ । उपचारबाट वञ्चित हुन दिँदैनौँ ।’ 

मन्त्री पौडेलले विपद्‌ कुनै पनि बेला आउन सक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताए । उनले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ