काठमाडौँमा खसी-च्याङ्ग्राको कमी नहुने, किलोको १३ सयसम्ममा बिक्री गरिँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
573
Shares
काठमाडौँ । नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैंमा नयाँ नयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिए पनि दशैंको लागि तयारी तीव्र छ । शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरू स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ ।
त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैंमा खसी, बोकाहरू कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलङ्की खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्याउने बताउँछ । कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए ।
उनले यस वर्ष विपद्का कारण सडकहरूको अवस्था केही कठिन भए पनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरू ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५÷४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको बताए । बिपी राजमार्गको अवरोधका कारण पूर्वी जिल्लाहरू र रामेछाप लगायतका जिल्लाहरूबाट भने खसी, बोका ल्याउन कठिनाइ हुने बताए । मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको बताए । रसुवा र तातोपानी नाका नखुलेसँगै च्याङ्ग्रा मुस्ताङबाट मात्रै ल्याउनुपरेकाले केही महँगो हुने बताए ।
विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसी बोका विक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा विक्री हुने अनुमान गरेको बताए । उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा विक्री गरेको बताए । अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेकाले त्यसको असर व्यापारमा परेको बताए । उनले उत्पादन बढ्ने तर माग घट्नुले केही समस्या आएको बताए ।
उनले भने, ‘हामीले खसी बजार शुरु गरेर व्यापार गरेको समितिको तर्फबाट ३१ वर्ष भयो । अहिलेसम्म हामीले काठमाडौं उपत्यकाको मागको लगभग ७० प्रतिशत आपूर्ति यहीँबाट भएको छ । चाडपर्वलाई लक्षित गरी विभिन्न जिल्लाहरूबाट काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५÷४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने गरेका छौँ । मध्य पहाडी क्षेत्रका जिल्लाहरूबाट खसी, बोकाहरू ल्याउने गरेका छौँ । बाढी, पहिरो आएर जुन असहज परिस्थिति आयो, त्यसले बाटोघाटोका कारण केही समस्या थिए, इलाम, रामेछाप जिल्लाका पशुचौपाय ल्याउन कठिन छ, पश्चिमतिरका जिल्लाबाट ल्याउन कठिन छैन । वर्षा जारी रहे यहाँको माग पूर्ति गर्न केही कठिन हुने अनुमान छ । मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने जस्तो हामीले सोचेका छौँ । खसीको मूल्य ६ सयदेखि ७४० सम्मको लगभग पोहोरकै छ । रसुवा नाका खुल्ने भएकाले त्यताबाट पनि च्याङ्ग्रा आउने हुँदा केही मूल्य घट्ने भन्ने हामीले आश गरेका थियौँ । तर तातोपानी र रसुवाको नाका पनि बन्द भएकाले मुस्ताङको मात्रै हुँदा च्याङ्ग्रामा केही मूल्य बढ्ने अवस्था छ । विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसी बोका बिक्थे भने अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेको अवस्था छ । त्यसको असर व्यापारमा पनि देखिएको छ । नेपाली उत्पादन बढेको छ, माग घटेको छ । कलङ्की खसी बजारबाट भेडा, बोका, च्याङ्ग्रा, खसी गरेर कलङ्की खसी बजारबाट २५ हजारको हाराहारीमा बेच्थ्यौँ भने यसपालि त्यही अनुपातको विक्रीको अनुमान गरेका छौँ ।’
खसी व्यापारी सन्तोष राईले आफूहरूले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको बताए । उनले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ विक्री गरिरहेको बताए।
उनले भने, ‘च्याङ्ग्रा हामीले जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेका छौँ । खसी ६ सयदेखि ७२० सम्म छ । बोका ६५० देखि ७ सयसम्म छ । च्याङ्ग्रा वर्षमा एक पटक आउने भएकाले अलि महँगै पर्छ । बाटोमा पहिरो गएको छ, अहिले आउन गाह्रो छ । बेणीबाट ११ दिन लाग्यो । मुस्ताङबाट आएको च्याङ्ग्रा हो ।’