arrow

ज्ञवालीको ‘खबरमा छु प्रिय’ को परिचर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
shakun-gyawali.jpg

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति समिति सदस्य कवि एवं लोकगायिका शकुन ज्ञवालीको मुक्तक कृति ‘खबरमा छु प्रिय’ को पोखरामा परिचर्चा गरिएको छ ।

कार्यक्रममा स्रष्टा शकुनलाई त्रिवेणी संगीतालय, हरिदेवी कोइराला साहित्य सम्मान, लेखनाथ साहित्य प्रतिष्ठान र मुक्तक मञ्चले सम्मान गरेको थियो ।

सोही अवसरमा कलाकार यादवचन्द्र भुर्तेलले बनाएको कवि शकुनको चित्र हस्तान्तरण पनि गरिएको थियो ।

मुक्तककार ज्ञवालीको ‘खबरमा छु प्रिय’ चौथो कृति हो । उनका लोक दोहोरी, तीज गीत गरेर दर्जन बढी गीति एल्बम प्रकाशित रहेका छन् । यसअघि पालुवा मञ्जरी कविता सङ्ग्रह, तिमी र म कविता सङ्ग्रह र भन्दिनु है बा कविता सङ्ग्रह प्रकाशित भएका छन् । ज्ञवालीका गजल र कथा सङ्ग्रह र उपन्यास प्रकाशोन्मुख छन् ।

कार्यक्रमका सरुभक्तले मुक्तकको राजधानी पोखराबाट साहित्यको क्षेत्रमा उदाएकी शकुन बहुप्रतिभाशाली श्रष्टा भएको बताए ।

शकुनको गायन, लेखन, सामाजिक परिवेश, घरदेशको अवस्था, विसंगति विरुद्धलगायतका हर क्षेत्रमा कलम चलेका छन् ।

मन घरदेशमा राखेर प्रदेशमा बसेर साहित्यको सिर्जना गर्नु आफैंमा विशिष्ट कार्य र संघर्षमाथिको जित भएको पनि सरुभक्तले बताए ।

तीसको दशमा पोखराबाट सिर्जनाको पनि मूल्य हुन्छ भनेर मुक्तकमा टिकट काटेर सहभागी हुने इतिहास जिवन्त रहेको बताउँदै उनले हालसम्म प्रचलित रुवाई शैलीका मुक्तकले आफ्नो पकड जमाएको बताए ।

साथै शकुनका मुक्तकले जीवनको बोध गराएको, जीवन दर्शनका कुरा गरेको बताउँदै सरुभक्तले चार लाइनको संरचनामा गहन र गहकिला, चोटिला र मिठास दिएको बताए ।

प्राज्ञ हरिदेवी कोइरालाले शकुनको प्रतिभाको बयान गरेर साध्य नहुने बताउँदै परदेशमा जानु पहिलेका संघर्षका कथा सुनाउँदै उनले निरन्तर लगावका कारण शकुन नेपाली साहित्यका लागि सगुन भएर आएको दावी गरिन् ।

कृतिकार ज्ञवालीले विदेशिनुको बाध्यता, सिर्जनाको लागि समायाभावको चर्चा गर्दै परिवारको साथ, सहयोग र हौसलाको उल्लेख गरिन् । उनले साहित्य सिर्जनाको लागि परिवार र शुभचिन्तक साथीको हौसला पाएको बताइन् ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, मुक्तक मञ्चका अध्यक्ष रामजी आचार्यले नेपाली साहित्यको उन्नयनका लागि विदेशमा बसेर शकुनले गरेको योगदान अतुलनीय रहेको बताए ।

कार्यक्रममा परिचर्चाकार असफल गौतमले ‘खबरमा छु प्रिय’ कृतिमा १८२ वटा मुक्तक रहेको बताउँदै मुक्तकले सामाजिक विकृतिको चिरफार, जानु पर्ने बाटो र जीवनदर्शनका कुरालाई बोलेको बताए ।

कार्यक्रममा कला साहित्य, संगीतको श्रीबृद्धिका लागि साहित्यकार ज्ञवालीले प्रतिष्ठानलाई एक लाख ५१ हजार रुपैयाँ अक्षयकोषको लागि प्रदान गर्ने घोषणा गरिन् ।

प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वरिष्ठ उपाध्यक्ष अभिमन्यु विक्रम राणाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ