जहाँ दशैँभन्दा पुरानो संस्कृति भन्दै मनाइन्छ सिकाली जात्रा [फोटोफिचर]
जहाँबाट दशैँ शुरु भयो भनिन्छ त्यहीँ मनाइँदैन दशैँ, खोकनाबासी भन्छन्–नभ्याएर नमनाइएको हो
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
794
Shares
काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दशैँ खोकनाबाट शुरू हुने विश्वास रहे पनि परम्परागत रूपमा यहाँ दशैँ भने मनाइँदैन ।
स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंश गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।
मुख्यरूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।
खोकनावासी दशैँ मनाउँदैनन् । यो जात्रालाई दशैँभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दशैँ मनाउन नभ्याएको उनीहरू बताउँछन् । खोकनाबासी भन्छन्–नभ्याएर नमनाइएको हो ।