arrow

बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जाने निर्माण व्यवसायीहरूको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
ravi-shing-06-23.jpg

काठमाडौँ । निर्माण व्यवसायीहरूले आफूहरूको बाँकी बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह, पूर्व अध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरूले निर्माण व्यवसायीहरूको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष सिंहले तिहार अगावै आफूहरूको सबै बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्बका आयोजनाहरूलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिए । उनले निर्माण व्यवसायीहरू सङ्कटमा परेको कारण मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढङ्गले चलायमान बनाउने काम गर्नुपर्ने बताए । 

उनले भने, एउटा जटिल परिस्थितिमा निर्माण उद्योग छ । र, निर्माण उद्योगमा भएको जटिल परिस्थितिको कारणले गर्दा तमाम निर्माण व्यवसायीहरू सङ्कटमा छौं, सकसमा छौं । यसको समाधानका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गरेर निकाल्नु पर्छ । र, निर्माण व्यवसायीहरूलाई सङ्कटमा पार्दा मुलुकको अथर, चाँडो भन्दा चाँडो यो कुराको निकास सरकारले दिनुपर्छ भन्ने कुरामा अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । र, हामी आशा गर्छौ–तिहार अगावै हाम्रो बक्यौता रकमहरूको भुक्तानीसहित ती साँढे ६ अर्बका आयोजनाहरूलाई सङ्कुचनमा गरेर सरकारले आफ्नो क्षमतामा ल्याउने छ । त्यसका लागि महासङ्घले आफ्नो तर्फबाट सरकारलाई खबरदारी गरिरहेको छ ।’

महासङ्घका पूर्व अध्यक्ष सकुन्तलाल हिराचनले पनि तिहार अगाडि आफूहरूको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए । उनले निर्माण व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढी फाइदा दिने दावी समेत गरे । 

पूर्व अध्यक्ष हिराचनले भने, ‘अव यो तिहार भन्दा अगाडि यदि हाम्रो भुक्तानी भएन भने हामीले कडा भन्दा कडा कदम नचाली सरकारले भुक्तानी दिन्छ जस्तो लाग्दैन । सरकारले हामीलाई भुक्तानी गरेको खण्डमा त्यो त्यो भन्दा ३ गुणा, ४ गुणा बढी फाइदा सरकारलाई नै हुन्छ । त्यो कुरा सरकारले बुझेको छैन । निर्माण क्षेत्र चलायमान हुनु भनेको सारा संसार चलायमान हुनु हो भन्ने कुरा उनहरूलाई थाहा छैन ।’ 



नयाँ