arrow

यी हुन् एमाले सचिवालय बैठकका निर्णयहरू [भिडियो]

कीर्तिपुर २ मा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउने, शुक्रबार शिलान्यास गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
uml-sachibalaya-06-24.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरूमा बस्दै आएको बताए । 

च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेको बताए । शुक्रवार १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी दिए । त्यस्तै बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता-कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आह्वान गरेको छ । 

समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरू छुटपुट देखाइपरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पङ्क्तिलाई आह्वान गर्ने निर्णय भएको बताए । बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ । उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्ने गरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेको बताए  ।

उनले भने, ‘विपद्पछिको पुनः निर्माण, पुनः स्थापना, केही ठाउँमा राहतका र खोज कार्यका कामहरूसमेत बाँकी रहेको हुनाले पार्टी, सङ्गठन, कार्यकर्ता र जनवर्गीय सङ्गठनका साथीहरू, जनप्रतिनिधि सबैलाई यो बाढी प्रभावित क्षेत्रमा स्वयंसेवी भूमिकामा निरन्तर लागिरहन, बाढीपीडितलाई बढी भन्दा बढी सहयोग उपलब्ध गराउन, उनहरूको पीडामा थोरै भए पनि मल्हम लगाउन निरन्तर लागिरहन आह्वान गरेका छौँ । 
समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने जुन प्रवृत्तिहरू छुटपुट देखा परेका छन् । यी गलत छन् । त्यसले सिंगो पार्टीपंक्ति देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छौँ । 
२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको हाम्रो पार्टी केन्द्रीय कार्यालय ध्वस्त भयो । त्यसयताका ९ वर्ष हामी विभिन्न ठाउँमा भाडाका भवनहरूमा बस्दै आएका छौँ । यस पटक यहाँ पनि हामीले दुई, तीन पटक बाढीको सामना गर्नुपर्‍यो । यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेका छौँ । भोलि १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुनेछ । 
देशका विभिन्न पालिकाहरूमा मेयर, अध्यक्षहरू, उपाध्यक्ष, उपमेयर र केहीमा वडाध्यक्षहरू गरेर ४० बढी ठाउँमा उपचुनाव हुन लागिरहेको छ । आगामी मङ्सिर १६ गते । त्यसका लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आह्वान गरेका छौँ । उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्ने गरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेका छौँ । 
वडा दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका छौँ । 
केन्द्रीय सदस्य रामश्रवण बस्नेतकी आमा सिद्धकुमारी बस्नेत र भीम केसीको आमा जनककुमारी खत्री क्षेत्रीको निधन भएको छ । उनहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्ने निर्णय गरेका छौँ ।’

पार्टीले वडा दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ । पार्टीले केन्द्रीय सदस्य रामश्रवण बस्नेत र भीम केसीको आमाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गरेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ