arrow

म को हुँ ?

logo
लक्ष्मण अधिकारी, पीएचडी
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
laxman-adhikari-phd.jpg

के म अरु जस्तै मान्छे हुँ ?
धेरै हदसम्म हो 
मेरो शारीरिक बनावट
मान्छे जस्तै छ ।
म उनीहरू जस्तै केही भाषामा
बोल्न सक्छु ।
मेरो निद्रा, थकान, लगाव
चिन्ता, चिन्तन
भोजन, उत्सर्जन
र अरु
आशक्तता उस्तै छन् 
तर
म सधैँ सोचिरहन्छु
किन म मान्छे हुँ ?
के मलाई २३ जोडी क्रोमोजमले नै
मान्छे बनाएको हो ?
त्यसो भए २३ जोडी नै किन ?
कि
२० हजार जिन र ३६ ट्रिलियन कोषहरूले ?
जे सुकै होस्
मसँग त्यति मात्र अंगहरू छन् 
जो अरुसँग छन् 
तर म सोचिरहन्छु,
किन मसँग दुईवटा मात्रै आँखा छन् ?
के मलाई पछाडि नदेख्नाले
खतराबाट बच्नु थिएन ?
मलाई यो पनि थाहा छ,
आँखा देख्दैमा सत्यको पहिचान
गर्न, बुझ्न,
र त्यसको गहिरो अर्थ
कहाँ थाहा हुन्छ र ?
अहिले भइरहेको
सामाजिक सञ्जालका बितण्डाहरू
यसकै झलक होइनन् र ?
हत्तेरिका !
नचाहिँदो कुरामा मेरो यो दिमाग
किन खर्च भइरहेको होला 
त्योभन्दा २ मिनेट भए पनि
म ती साथीहरूसँग कुरा गर्न सकुँ
जो बिग ब्याङ्ग वा
ब्ल्याक होलको बारेमा सोचिरहेका होलान् 
जो कोरोना भ्याक्सिनको
प्रभावकारिताको छलफल गर्दै होलान्
जो हरित क्रान्तिको समीक्षा गर्दै होलान्
वा
कार्बन फुटप्रिन्टका कारण
पृथ्वीको बिग्रँदै गरेको हालत
र यसको सम्भावित निराकरणको
बारेमा घोत्लिरहेका होलान् 
यिनै विचारहरू सँगसँगै
म को हुँ भन्ने चिन्ने प्रयासमै छु
जे भए पनि
म यो पृथ्वीको लागि
केही दशक वर्षको पाहुना हुँ
सकेसम्म ब्रह्माण्डले देखेको
बुझेको, मनन गरेको
बोल्न छोड्दिनँ
चाहे भारी बहुमतले
इन्कार किन नगरोस् 
३९ वर्षे सेरोफेरोमा
घुमिरहेको यो जीवन
केही खोज, केही सोच
केही माया, केही ममताबीच
दौडिरहेको छ
अनि 
फुर्सद निस्क्यो कि
सधैँ एउटा कुरा आइरहन्छ
म को हुँ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ