- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् ।
आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका छन् भने प्रहरीले पानीको फोहरा प्रयोग गरी भिड नियन्त्रणको प्रयास गरेको थियो । तर असफल भएपछि अश्रुग्याँस प्रहार गरेको छ ।
यता सहकारी पीडितले पनि निषेधित क्षेत्रमै प्रवेश गरेर नारा घन्काएका छन् । उनीहरुले सहकारी ठगलाई कार्वाही गर, सहकारी पीडितलाई न्याय देलगायतका नारा घन्काएका छन् ।
दुवैतर्फको प्रदर्शन चर्किँदै गएपछि सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको छ । अप्रिय घटना हुन नदिन कास्कीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया आफै मैदानमा खटिएका छन् । रवि लामिछानेलाई लिएर अनुसन्धानको जिम्मेवारी पाएका डीएसपी वसन्तकुमार शर्मा अदालतमा छन् ।
सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । उनलाई शुक्रबार राति स्थलमार्गबाट पोखरा ल्याइएको हो ।
रविलाई पोखरा ल्याइएसँगै देशभरबाट रास्वपाका कार्यकर्ता पोखरा आएका छन् । उनीहरुको व्यवस्थापन पार्टीको कास्की र गण्डकी प्रदेश समितिले गरिरहेको छ ।