arrow

रविलाई छुटाउन गएका मनिषले सहकारी पीडितलाई भने - कांग्रेस एमालेको भर नपर्नु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
manish-jha-rsp-press-meet.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का प्रवक्ता मनिष झाले एमाले र कांग्रेसका कार्यकर्ता सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाएका छन् ।

रास्वपाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता झाले यस्तो आरोप लगाएका हुन् । उनले सहकारी पीडितलाई कांग्रेस एमालेको भर नपर्न पनि आग्रह गरे ।

कांग्रेस र एमाले कुन बेला कतातिर उभिन्छन् पत्तो नहुने उनले बताए । पत्रकार सम्मेलनमा झाले भने, ‘अहिले एमाले-कांग्रेस प्रेमीप्रेमिका जसरी हिँडिराछन्, कुन दिन पेटी यता उता हिँड्छन् टुङ्गो छैन ।’

झाले भने, ‘उनीहरूले मुद्दा उठाइदिन्छन् भन्ने लागेको भए सहकारी पीडितहरु भ्रममा छन्, कुनै दिन धोखा पाउनुहुनेछ, उहाँहरू सधैँ सँगै हिँड्नुहुन्छ भन्ने छैन ।’

प्रवक्ता झाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई छुटाउन आफूहरु पोखरा नआएको स्पष्टीकरण दिए । तर रविलाई पोखरामा ल्याएदेखि रास्वपाका नेताहरु पोखरामा अड्डा जमाएर बसेका छन् ।

 सबै काम कानूनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भन्ने आफूहरुको चाहना भएको उनको भनाइ छ । 

उनले भने, ‘सभापतिलाई राजनीतिक प्रतिशोधकै आधारमा पक्राउ गरिएको म प्रमाणित गर्न सक्छु ।’

सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा उहाँ (रवि लामिछाने) लाई मात्र थुन्ने गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरसमेत यस्तै प्रकरणमा मुछिएको अवस्थामा उनलाई कुनै कारबाही नगरेकोमा झाले दुःखेसो पोखे ।

सहकारी पीडितको ८७ अर्बको कुरा गर्दा ६५ करोडको मात्रै कुरा निकाल्ने र एउटै बोर्डमा भएको कोही राष्ट्रपतिको सल्लाहकार हुने कोहीलाई थुन्ने कुराले नै पूर्वाग्रह पुष्टि भएको झाको दाबी छ । सहकारीका मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउनेसमेत उनले स्पष्ट पारे ।

उक्त अवसरमा रास्वपाका नेता हरि ढकालले सहकारीको मुद्दा निरन्तर उठाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ