arrow

चिनियाँ राजदूतले नेपालमा नचलेको बीआरआई परियोजनाबारे भ्रम छरेको भन्दै फिर्ता गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
rea-2024-10-27.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत चेन सोङले गरेको भ्रामक दाबीको विरोध गर्दै नेपाल सरकारसँग कूटनीतिक कदम चाल्न माग गरेको छ। 

आज पत्रकार सम्मेलन गरी अभियानले उक्त माग गरेको हो । उक्त पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो। 

अभियानले सूचना अधिकार (आरटीआई) ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गरेको थियो। 

नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार, नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको छ। तर चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाडौँ चक्रपथ दोस्रो चरण, हिल्सा–सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआई अन्तर्गतको परियोजना भनेर दाबी गरेका छन् ।

अभियानका सदस्यहरूको भनाइमा चिनियाँ राजदूतको यस्तो दाबीले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ र यसले नेपाल र चीनबीचको कूटनीतिक मर्यादामा आँच पुर्‍याएको छ। 

वियना कन्भेन्सन अन डिप्लोम्याटिक रिलेसन्स (१९६१) अनुसार कुनै पनि मुलुकका राजदूतले आफू कार्यरत राष्ट्रको कानूनी मर्यादा र सार्वभौमिकतालाई सम्मान गर्नुपर्छ । 

कन्भेन्सनको धारा ४१ ले स्पष्ट रूपमा राजदूतहरूलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न निर्देशन दिएको छ, जुन मापदण्डलाई राजदूत सोङको पछिल्लो गतिविधिले उल्लङ्घन गरेको ठहरिएको छ।

राष्ट्रिय एकता अभियानले पत्रकार सम्मेलनमा चिनियाँ राजदूतलाई देशनिकाला गर्नसमेत माग गरेको छ। अभियानका सदस्यहरूका अनुसार, बीआरआईका नाममा चीनले अन्य देशहरूमा आफ्ना परियोजना र ऋण प्रवाहमार्फत प्रभाव विस्तार गरेको इतिहास रहेको छ। 

श्रीलंका, पाकिस्तान र मलेसियाले बीआरआई अन्तर्गतका परियोजनाहरूमा संलग्नता गर्दा आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्दै सदस्यहरूले नेपाललाई यस्ता असमान सर्तहरूसँग सचेत रहन सुझाव दिएका छन् । 

श्रीलंकाले हाम्बनटोटा बन्दरगाहलाई ९९ वर्षका लागि चीनलाई सुम्पनुपरेको अवस्थामा पुगेको र पाकिस्तानले चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीईसी) अन्तर्गत भारी ऋणभारको दबाब झेलिरहेको प्रसङ्ग उल्लेख गर्दै अभियानले नेपाललाई पनि सम्भावित आर्थिक र राजनीतिक खतराबाट जोगिन आग्रह गरेको छ।

अभियानका उपत्यका संयोजक महेश्वरमान वैधले चिनियाँ राजदूतको यस्तो झूटो दाबीले नेपालको आर्थिक सुरक्षा र अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पार्न सक्ने बताएका छन् । 

उनले सरकारलाई तुरुन्तै खण्डन गर्न र चिनियाँ दूतावाससँग औपचारिक स्पष्टीकरण माग्न आग्रह गरे। साथै कूटनीतिक विरोधपत्र पठाई भविष्यमा यस्ता भ्रामक दाबीहरू नगर्न चेतावनी दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय एकता अभियानले नेपाल सरकारले बीआरआई लगायतका अन्तर्राष्ट्रिय परियोजनामा आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

अभियानले नेपालको सार्वभौमसत्ता र कानूनी मर्यादालाई कायम राख्दै अनावश्यक आर्थिक दबाब र कूटनीतिक असमानता रोक्न कानूनी र कूटनीतिक रूपमा मजबुत रणनीति अवलम्बन गर्न सरकारलाई अपील गरेको छ। 

पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान लगायतले आफ्नो विचार राख्दै  चिनियाँ राजदूतलाई देशनिकाला गरी नेपालको सार्वभौमिकता र सम्मानलाई कायम राख्न सरकारलाई अपील गरेका छन् ।
 

rastriya-ekata-abhiyan-11-7-11 (3).jpg
rastriya-ekata-abhiyan-11-7-11 (4).jpg
rastriya-ekata-abhiyan-11-7-11 (1).jpg
rastriya-ekata-abhiyan-11-7-11 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ