- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बरबाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरूलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो ।
पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बरबाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताउनु भयो । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे । उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष लिङदेनले भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही कांग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बरबाद भयो । अनि यो बरबादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोली उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरी बाँकी समय बरबाद गर्ने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु–नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’