- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिएको छ ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालत लगिएको हो ।
रविसँगै पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएको छ ।
उनीहरुलाई म्याद थप गर्ने कि रिहा गर्ने सबै अधिकार न्यायाधीशलाई हुनेछ ।
आज कास्की अदालतबाट म्याद थप भए रविलाई बयानका लागि छठपछि रुपन्देही लैजाने तयारी छ । कास्की अदालतले रिहा गर्ने निर्णय गरेमा उनलाई रिहा लगत्तै रुपन्देही प्रहरीले पक्राउ पर्नेछ ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पोखरामा प्रदर्शन गरेको छ । रास्वपाको पोखरास्थित प्रदेश कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन जिरोकिमी हुँदै सिर्जनाचोकतर्फ अघि बढेको छ ।
विरोध प्रदर्शनमा भने निकै न्यून संख्यामा कार्यकर्ता छन् । उनीहरुलाई नेपाल प्रहरीले सुरक्षा घेरा भित्रै राखेर प्रदर्शन गर्न दिएको छ ।
प्रदर्शनका क्रममा नालायक सरकार मूर्दावाद, भ्रष्ट सरकार चाँहिदैन जस्ता सरकार विरोध नारा घन्काइएका छन् ।
रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो ।
केही अघि एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।