- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। म्याद थपका लागि आज अदालतमा पेश गरिएकामा उनलाई थप १० दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको हो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालत लगिएकामा अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालत लगिएको हो ।
योसँगै छ दिन आज गुज्रने छ भने बुधबारदेखि चार दिनमात्र बाँकी हुनेछ ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएको थियो । उनीहरुलाई पनि १० दिन म्याद थपिएको छ ।
चार जनाकै म्याद १०-१० दिन थप भएकाे अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।
यता लामिछाने पक्राउ परेको विरोधमा उत्रिएका सात जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । सो क्रममा प्रहरीले लाठी चार्ज, अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनका क्रममा नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार चाहिँदैन जस्ता सरकार विरोधी नारा घन्काइएका छन् ।
रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो ।
केहीअघि एक साता पोखरामा प्रदर्शन गरेको रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।