arrow

पहिलो पटक प्रमुख सूचना आयुक्तमा ‘डेमोक्र्याट’, डा आचार्य सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
suresh-acharya-senior-journalist.jpg

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उनलाई सिफारिस गरेको हो । 

यसैगरी समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

यसपालि पहिलो पटक तीनै जना पत्रकारिता पृष्ठभूमिबाट सिफारिस गरिएको हो ।

प्रतिनिधि सभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ । 

प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए । आयुक्तमा दिनेहरुमा प्रमुख आयुक्तमा पनि दिएका अधिकांश थिए ।

पहिलो पटक ‘डेमोक्र्याट’ प्रमुख आयुक्त
यसअघि तेस्रो कार्यकाल सकिँदै गर्दा अहिलेसम्म ‘डेमोक्र्याट’ ले नेतृत्व सम्हाल्ने मौका पाएका थिएनन् । यसपालि राष्ट्रिय सूचना आयोग चाहिन्छ भनेर आयोग बन्नुभन्दा धेरै वर्ष अगाडिदेखि नै लबिइङ गर्दै आएका आचार्य पहिलो पटक डेमोक्र्याट कोटाबाट प्रमुख आयुक्त सिफारिस भएका हुन् । 

२०६५ सालदेखि शुरु भएको राष्ट्रिय सूचना आयोगमा तेस्रो कार्यकाल सकिन थालेको हो । अब बन्ने पदाधिकारीहरु चौथो कार्यकालका लागि हुन् । 

पहिलो प्रमुख सूचना आयुक्त विजय कसजू हुन् । श्री आचार्य र सबिता भण्डारी बराल सूचना आयुक्त भएका थिए । उनीहरुको २०६५ साल जेठ २४ गतेदेखि २०६९ साउन २ गतेसम्म कार्यकाल रहेको थियो । 

दोस्रो कार्यकालका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा थिए । किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना आयुक्त थिए । उनीहरुको कार्यकाल २०७१ पुस ३० देखि २०७६ पुस २३ गतेसम्म रहेको थियो । 

तेस्रो कार्यकालका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ हुन् भने कमला ओली थापा र रत्नप्रसाद मैनाली आयुक्त हुन् । 

राष्ट्रिय सूचना आयोगको पृष्ठभूमि लामो छैन । यसको जरुरी कांग्रेस निकटकाहरुले बढी देखेर पहल थालेका थिए । तर अहिलेसम्म ‘डेमोक्रयाट’ निकटकाहरु कोही पनि प्रमुख आयुक्त बन्न पाएका थिएनन् ।

कसजूलाई माओवादी केन्द्रले प्रमुख बनाएको थियो । बास्कोटा र गुरुङलाई एमालेले प्रमुख आयुक्त बनाएको थियो । 

यसलाई सन्तुलनमा ल्याउनका लागि यसपालि पहिलो पटक  ‘डेमोक्रयाट’ अनुहार आएका हुन् । 

डा. सुरेशप्रसाद आचार्य नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । सूचनाको हकका लागि उनले महासंघको सभापति हुँदादेखि नै लड्दै आएका हुन् । आयोग बन्नुमा उनको पनि ठूलो हात छ ।

हाल उनी नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक छन् ।

आयुक्तहरु विष्ट र भण्डारी एमाले पृष्ठभूमिका हुन् । 

आचार्य बाहेक क–कसले दिएका थिए आवेदन ?  
प्रमुख आयुक्तका आवेदकहरु सबै आफ्ना विधाका अनुभवी हुन् । १६ जनामा डा सुरेशप्रसाद आचार्यसँगै चन्द्रमान श्रेष्ठ, धर्मेन्द्र झा, प्रदीपराज कँडेल, राममाया कुँवर, हरिप्रसाद भट्टराई, होमप्रसाद लुइँटेल, हरिप्रसाद बस्याल, हिरामणि शर्मा, डा।महेन्द्र विष्ट, रमेश पौडेल, डा दामोदर रेग्मी, रामप्रसाद थपलिया, महेश्वर काफ्ले, मेघराज आचार्य र अखण्ड भण्डारी रहेका छन् । 

चन्द्रमान श्रेष्ठ पूर्व सचिव हुन् । कर्णाली प्रदेशको प्रमुख सचिवबाट सेवा निवृत्त हुन् । 

धर्मेन्द्र झा नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । उनी हाल राष्ट्रिय समाचार समिति राससका अध्यक्ष हुन् । राससमा उनको कार्यकाल अझै डेढ वर्ष बाँकी छ । 

प्रदीपराज कँडेल सहसचिबाट सेवा निवृत्त भएका पूर्व प्रजिअसमेत हुन् । 

राममाया कुँवर महालेखा नियन्त्रकको कार्यालयमा नायब महालेखा नियन्त्रकबाट सेवा निवृत्त हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव ९नेपाल सरकारका सहसचिव० विनोदबहादुर कुँवरकी पत्नी हुन् ।

होमप्रसाद लुइँटेल नेपाल सरकारका सहसचिवबाट निवृत्त कर्मचारी हुन् । उनी पर्यटन विभागको महानिर्देशक भएका थिए । 

हरिप्रसाद बस्याल सरकारको सचिवबाट सेवा निवृत्त हुन् । हालका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उनी गण्डकीका प्रमुख सचिव थिए । त्यसपछि उनी संचार सचिवबाट सेवा निवृत्त भएका हुन् । 

हिरामणि शर्मा सरकारका पूर्व सहसचिवबाट सेवा निवृत्त कर्मचारी हुन् ।

डा महेन्द्र विष्ट नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । उनी नेपाल टेलिभिजनका पूर्व अध्यक्ष हुन् । 

रमेश पौडेल नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष हुन् भने अहिले नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख छन् । उनी लामो समयदेखि पोखराबाट गोरखापत्र संस्थान र नेपाल टेलिभिजनमा स्ट्रिन्जरको रुपमा रहे । 

डा दामोदर रेग्मी गण्डकी प्रदेशको प्रमुख सचिव थिए । उनी नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भए ।  

रामप्रसाद थपलिया नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुन् ।

महेश्वर काफ्ले महालेखा नियन्त्रक कार्यालयकको नायब महालेखा नियन्त्रकबाट सेवा निवृत्त हुन् ।

मेघराज आचार्य पूर्व सञ्चारकर्मी एवं अधिकारकर्मी हुन् । उनी माओवादीको सशस्त्र द्वन्द्वका पीडित पनि हुन् । 

अखण्ड भण्डारी अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ