arrow

पोखरामै फर्कियो रास्वपा, आज चिप्लेढुंगामा प्रदर्शन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
rsp-pokhara-81-7-20 (7).jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ । आज दिउँसो ४ बजे पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकमा प्रदर्शन गर्ने सो पार्टीले जनाएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याइएसँगै रास्वपाले आन्दोलन शुरु गरेको थियो । रास्वपाले कात्तिक ३ गते शनिबार मानवअधिकार चोकबाटै आन्दोलन शुरु गरेको थियो ।

त्यसै दिनदेखि लगातार आन्दोलन गर्दै आएको रास्वपाले पछिल्ला दिनमा काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो । तिहार बिदामा आन्दोलन रोकेको रास्वपाले मंगलबारदेखि पुनः पोखरामै आन्दोलन गर्न थालेको छ ।

मंगलबारको विरोध प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ता कास्की प्रशासनले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले दर्जन बढी सेल अश्रुग्यास हानेको थियो । सो क्रममा पक्राउ परेकालाई साँझ छाडिएको थियो ।

रास्वपाले शुरुआती दिनदेखि नै देशभरका कार्यकर्ता पोखरा उतारेको थियो । तर आन्दोलन तुहिँदै जान थालेपछि रास्वपाले पोखरा छाडेर काठमाडौँमा आन्दोलन गरेको थियो ।

काठमाडौँमा आन्दोलनसँगै वार्ता र संवादलाई अघि बढाएको रास्वपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई भेटेका थिए ।

सभापति लामिछानेलाई छाड्ने विषयमा सरकारले चासो नदिएपछि रास्वपाका नेताहरु सडकमै संघर्ष गर्ने मुडमा पुगेको छ । मंगलबार पोखराको वाईचोकमा भएको प्रदर्शनमा रास्वपा नेत्री एवं संघीय सांसद सोविता गौतमको अभिव्यक्तिले त्यस्तै छनक दिएको थियो । सोक्रममा उनले उत्तेजित अभिव्यक्ति दिएकी थिइन् ।

अहिलेको सरकार भ्रष्ट र तानाशाही सरकार भएको भन्दै उनले सरकारबिरुद्ध प्रतिरोधमा उत्रिन आह्वान गरिन् । उनले रविलाई मुद्दाका आधारमा नभई राजनीतिक प्रतिशोधका आधारमा फसाउने षडयन्त्र भएको दावी गरिन् ।

सांसद गौतमले तानाशाही र भ्रष्ट सरकारबिरुद्ध जिल्लाजिल्लाबाट उर्लिएर आउन आह्वान गरिन् । उनले भनिन्, ‘तपाइँहरु जहाँ जे गर्न सक्नुहुन्छ त्यहि गर्नुस्, त्यसको जिम्मा हामी लिन्छौँ ।’

रास्वपाले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले जबरजस्ती र अनावश्यक बल प्रयोग गरेको भन्दै आपत्तिसमेत जनाएको छ ।

सभापति लामिछानेलाई मंगलबार तेस्रो पटक १० दिनको म्याद थप भएको छ । उनलाई छठ पर्वलगत्तै बयानका लागि रुपन्देही लैजाने तयारी भएको छ । बुटवलको सुप्रिम सहकारी घोटला प्रकरणमा रुपन्देही जिल्ला अदालतले लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

साथै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर रुपन्देही पठाइदिन आग्रह गरेको छ । लामिछानेलाई कास्की जिल्ला अदालतले मंगलबार छाडिदिने निर्णय गरेको भए रुपन्देही प्रहरीले तत्कालै पक्राउ गर्ने तयारी गरेको बताइएको छ ।

सूर्यदर्शन सहकारी घोटला प्रकरणमा जोडिएका लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीहरुलाइ पनि मंगलबार १० दिन नै म्याद थप भएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ