- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसलाई पछार्दै ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनी यसअघिको चुनावमा जो बाइडेनसँग पराजित भएको भए पनि त्यसअघिको कार्यकालमा हिलरी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
अहिले उनले कुल ५० राज्यका ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्नेमा त्यो भन्दा बढी भोट जितेका हुन् । ट्रम्पले २७९ र ह्यारिसले मात्र २२३ भोट जितेकी छिन् ।
योसँगै अमेरिकी २३० वर्षे इतिहासमा फेरि पनि पुरुष नै हावी भएका हुन् । अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् ।
ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् । योसँगै उनको राजनीतिक उछाल तत्कालका लागि रोकिएको छ ।
संसदीय चुनावमा पनि ट्रम्पकै रिपब्लिकन अगाडि रह्यो । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले २०१ तथा डेमोक्रेटिकले १७७ सिट जित्दा सिनेटमा रिपब्लिकनले ५१ तथा डेमोक्रेटिकले ४२ सिट जितेको छ ।
सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ ।
अब के हुन्छ ट्रम्पको सजाय ?
डोनाल्ड ट्रम्पलाई गत सेप्टेम्बरमा म्यानहट्टन हश मनि आपराधिक मुद्दामा सुनाइने भनेको सजाय राष्ट्रपतिको चुनावसम्म स्थगित गरिएको थियो ।
न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका थिए । ट्रम्प त्यतिबेला रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार थिए । जसका कारण चुनावमा असर गर्छ भनेर अदालतले सजाय आगामी नोभेम्बर २६ सम्म स्थगित गरेको हो ।
नोभेम्बर ६ मा ट्रम्प शानदार मतसहित दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भए ।
यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो तर राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए ।
मे महिनामा न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो ।
अमेरिकामा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो । न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावले कुनै असर नपरोस् भन्ने निर्णय गर्नुपर्ने पनि बताएका छन् ।
तर मुद्दामा दोषी ठहर भइसकेको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बन्न दिनु र अब फेरि अदालतले कसरी सजाय दिएर पदमुक्त गर्न सक्छ त ? यो निकै चासोको विषय बनेको छ ।
यदि उनीमाथि सजाय भयो भने अमेरिकी इतिहासमा अर्को इतिहास बन्नेछ ।