- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग इजरेलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गरेका उनको कार्यालयले आइतबार बताएको छ ।
“पछिल्ला केही दिनमा मैले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक कुरा गरेको छु । इजरेल र अमेरिकाबीचको बलियो गठबन्धनलाई अझ बलियो बनाउनका लागि वार्ता गरिएको हो”, आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहूले भनेका छन्, “हामी इरानी खतराको हरेक पक्षमा एउटै दृष्टिकोण राख्छौँ ।”
उनले ट्रम्पसँग ‘शान्ति र यसको विस्तारको क्षेत्रमा इजरेल समक्ष रहेका ठूला अवसरहरू’ बारे पनि कुरा गरेको बताए ।
संयुक्त राज्य अमेरिका इजरेलको शीर्ष सहयोगी र सैन्य समर्थक हो । साथै गाजा र लेबनानमा युद्ध चलिरहेको बेला यो निर्वाचन मध्यपूर्वका लागि महत्त्वपूर्ण समयमा आएको छ ।
दुई नेताबीच लामो समयदेखिको व्यक्तिगत मित्रता भएकाले र पूर्वराष्ट्रपति ट्रम्प इजरेलको कट्टर शत्रु इरानप्रति कडा धारणा राख्ने भएकाले नेतान्याहूले ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनको आशा गरेका विश्लेषकहरूको विश्वास छ ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकी दूतावास जेरुसेलममा सारे, कब्जा गरिएको गोलान हाइट्समाथि इजरेलको सार्वभौमसत्ता स्वीकार गरेर तथाकथित अब्राहम सम्झौताअन्तर्गत इजरेल र केही अरब राष्ट्रबीच सम्बन्ध सामान्यीकरण गर्न मद्दत गरे।