arrow

कृषकका समस्याप्रति गम्भीर बन्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
jss-kaski-farmer.jpg

पोखरा । जिल्ला समन्वय समिति कास्कीले कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा जिसस प्रमुख लिलाधर पौडेलले कृषकका समस्या पहिचान गरी समस्या समाधानमा केन्द्रित हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

कृषिमा आत्मनिर्भर हुने कार्यक्रम अति जरूरी रहेको भन्दै उनले प्रविधि र समयको उचित प्रयोगसहित वास्तविक किसानसम्म पुग्ने कार्यक्रम बनाउन आग्रह गरे ।

माछापुच्छ्रे गाउँपालिका धितालका कृषक नवीनराज अधिकारीले कतिपय पालिकमा वास्तविक कृषक लक्षित कार्यक्रम नपुगेको भन्दै दुखेसो पोखे । उनले उत्पादनदेखि बजारिककरणका समस्याले कृषक पीडित हुनुपरेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे ।

अर्का कृषक बृजलाल चौधरीले कृषकलाई पर्याप्त तालिम र जानकारी नहुँदा व्यवसायिक कृषिमा बाधा भएको बताए ।

कृषिसँग सम्बन्धित कार्यालयका सूचना र अनुदानसमेत आफूहरूको पहुँचमा नभएको भन्दै उनले वास्तविक किसान मारमा परेको जिकिर गरे ।

पोखरा-२२ का कृषक देविलाल बरालले बाली र नश्ल सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै बाली तथा पशुमा लाग्ने रोग अर्को मुख्य समस्या भएको बताए ।

अर्का कृषक रामकृष्ण लामिछानेले भैँसी तथा पाडापाडी अनुदानसम्बन्धी व्यवस्था वैज्ञानिक नभएको बताए । उनले उन्नत जातका नश्ल उत्पादनका कार्यक्रम व्यवसायिकतामा मात्रै केन्द्रित हुनु दुखद् भएको जिकिर गरे ।

कृषक दुर्गाबहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुस्किल परेको भन्दै राज्यका निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

एग्रो टुरिजम सहकारी अध्यक्ष डिल्लीराम बरालले युवा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आवश्यक भएको बताए ।

उनले कृषि पर्यटनलाई सँगसँगै अगाडि बढाउन सकेमात्रै नीति तथा कार्यक्रम थप प्रभावकारी बनाउन सकिने बताए ।

आइभीआइ प्रुडेन्सियल इन्स्योरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बिमाका नीति, नियम र कानूनले साथ दिएका बिषयमा बिमाले भुक्तानी गरिरहेको बताए ।

खाद्य व्यवस्था गुणस्तर कार्यालय पोखरा प्रमुख रञ्जना केसीले न्यूनतम् समर्थन मूल्यमा कृषकका उत्पादन खरिद गरिरहेको भन्दै दीर्घकालीन मौज्दात रहने खाद्यान्नको न्यूनतम् समर्थन मूल्यमा खरिद गरिने उल्लेख गरिन् ।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका महत्वपूर्ण भएको बताए । कृषि क्षेत्रमा राज्यका सबै तहले न्यून बजेट विनियोजित गर्दा काम प्रभावकारी हुन नसकेको उनले उल्लेख गरे ।

कडरियाले सहुलयित दरको ऋण उपलब्ध हुने वातावरण निर्माणमा जुट्न आग्रह गर्दै कृषिको नीतिगत झन्झटका कारण पनि व्यवसायिकताको विकासमा समस्या स्पष्ट पारे । उनले सरकारले चलाएको किसान शुद्धीकरण अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

जिससका सदस्य राजु अधिकारीले भइरहेका सकारात्मक कार्यक्रमको समीक्षासहित आगामी बर्ष परिमार्जित नीति कार्यक्रम लागु गर्न पालिकासँग आग्रह गरे ।

जिसस प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ