- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । उनलाई साढे १२ बजे भैरहवा ल्याइएको हो ।
उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ जिल्ला प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलको कार्यालय लगी बयान लिइने छ ।
यसअघि कम भिजिबिलिटीका कारण बिहानदेखि उड्न नसकेको जहाज आवश्यक भिजिबिलिटी पुगेसँगै पोखराबाट भैरहवा ल्याइएको हो ।
यता उनको रिहाइको माग गर्दै आएका उनका पार्टीका नेता कार्यकर्ताको विमानस्थल जाने सडकमा भीड जम्मा भएको छ । रास्वपाले भैरहवामा विरोध प्रदर्शन गरेको छ । कार्यकर्ता भैरहवा विमानस्थलमै पुगेका थिए ।
भिडियो लिन र तस्बिर खिच्न आतुर संचारकर्मीलाई भने गौतमबुद्ध विमानस्थलमा प्रवेश दिइएन । हर प्रयास गर्दा पनि सुरक्षा घेरा बनाएर संचारकर्मीलाई रोकिएको हो ।
बिहानैदेखि उनलाई भैरहवा ल्याउने भनेसँगै गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो ।
साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ ।
यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो । लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।
उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।
लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।