arrow

आफैँलाई प्रश्न 

logo
कविता गौतम, 
प्रकाशित २०८१ मंसिर ८ शनिबार
kabita-gautam-81-8-8.jpg

आज मैले आफैँलाई कुरा गरेँँ
आज मैले आफैँले आफैँलाई प्रश्न गरेँँ

साँच्चै के पाइस् तैले राम्रो मान्छे बनेर 
अरुको चित्त दुख्ला भनी आफ्नो चित्त दुखाएर ?

आज मैले आफैँले आफैँलाई बेस्सरी गाली गरेँ
कैले आफूलाई माया गर्या छेस् ?
कैले आफूलाई महत्व देको छेस् ?
 
निकै बेर ऐनामा हेरेँ अनि 
आफैँले आफैँलाई झापड लगाएँ

अनि सम्झाउँदै भनेँ
धेरै फसिस् दुनियाँको चक्करमा 
अब होशमा आउने बेला भयो 
धेरै गरिस् अरुको भलो 
अब आफ्नो भलो गर्ने बेला भयो
धेरै गरिस् अरुलाई माया
अब त आफैँले आफैँलाई माया गर्ने बेला भयो 

थाहा छ त  दुःखी हुनुको कारण के हो ?
थाहा छ त असफल हुनुको कारण के हो ?
कान खोलेर सुन् तैले आफ्ना सपनालाई भन्दा बढी 
आफ्ना भनाउँदालाई समय दिइस्
समय त तैले दिइस् 
तर तेरो समयको महत्व भएन
तैले आफूलाई भन्दा बढी माया अरुलाई गरिस् 
तर तलाई माया गर्ने कोही थिएनन् 
थिए त केवल झूटा आश्वासनहरु
तँ त्यही आश्वासनमा फसिस्
सबैलाई राम्रो गर्दै गइस् 
सबैले तैलाई उस्तो भन्थे 
तर तँ सोझो थिइस् 
त्यही सोझोपनको फाइदा अरुले उठाए
तैले धेरै दुःख गरिस् 
आफैँ दुःख सहिस् 
तर अरुको नराम्रो गरिनस् 
तैले मान्छे चिन्न एकदमै ठूलो गल्ती गरिस् 
ती मीठा मीठा झूटा आश्वासनमा फसिस् 
अनि आफैँलाई दुःख दिइस्
एउटा कुरा भन् त 
सबैको दुःखमा तँ थिइस् 
तर तेरो दुःखमा को छ र ?
साथी
प्रेम
आफन्त भनाउँदा सबै 
राम्रो अवस्थामा मात्र त हो नि हक जमाउन आउने
तेरो दुःख सङ्घर्षमा त तँ बाहेक अरु को छ भन् त ?
हेर् त तँ आफैँ कति कमजोर भइसकिस् 
छोड्दे अब ती गलत सम्बन्धहरु
 छोड्दे अब आफैँले आफैँलाई सजाय दिन
अब आफू बलियो भएर लडाइँ गर्
अनि आफूलाई एकदमै कठोर बनी अघि बढ्
तेरो आफ्नो भन्नु तँ बाहेक कोही छैन 
त्यसैले मान्छे चिनेर अनि आफू साहसी बनेर सफल हो ।
 



नयाँ