arrow

बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
bancharedada-landfield-site-2079.jpg

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहर विसर्जन स्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मङ्सिर २० गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहरमैला व्यवस्थापन उच्चस्तरीय समितिले सक्रियता देखाएको छ । फोहर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरूले ज्ञापन पत्र बुझाउँदै सरकारले चासो नदिए फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका थिए । 

आइतबार सिंहदरबारमा बसेको फोहरमैला व्यवस्थापन उच्चस्तरीय समिति र नगरपालिकाहरुले सक्रियता देखाएका हुन् । फोहरमैला व्यवस्थापन उच्चस्तरीय समितिले वातावरणीय अध्ययनको सिफारिसको आधारमा प्रभावित क्षेत्र थप गर्दै आवश्यकताका आधारमा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले फोहर विसर्जन स्थलको वातावरणीय अध्ययन शुरु गरेको र अध्ययनको सिफारिसको आधारमा अघि बढ्ने निर्णय गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । सरकारले फोहर व्यवस्थापनको लागि भन्दै अहिलेसम्म एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरेकोले स्थानीयको मागअनुसार त्यसको सीमाङ्कन गर्ने समेत निर्णय भएको उनले बताए । प्रभावित क्षेत्र सीमाङ्कन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्नेछ । 

फोहर विसर्जनका लागि लैजाने क्रममा बाटोमा फोहर खस्ने र दुर्घटनाको जोखिम बढेको भन्दै शिवपुरी हुँदै वैकल्पिक मार्ग सडक निर्माण गर्ने निर्णय भएको छ । सडक निर्माणका लागि फोहर व्यवस्थापन गर्ने स्थानीय तह र शहरी विकास मन्त्रालयले स्रोतको प्रबन्ध गर्ने उनले बताए । काठमाडौं महानगरपालिकाभित्रको फोहरको वर्गीकरण गरी नकुहिने फोहरको महानगरको उपयुक्त स्थानमा जग्गा अधिग्रहण गरि कम्पोष्ट मल बनाउने निर्णय समेत समितिले गरेको छ । 

बैठकका निर्णय सुनाउँदै सचिव गेलाल भने, ‘शहरी विकास मन्त्रालयले वातावरणीय अध्ययन (इआईइए)को अध्ययन शुरु गरेको छ । सकेसम्म त्यो अध्ययन चाँडो सक्ने र त्यो अध्ययनले सिफारिस गरेअनुसार कति प्रभावित क्षेत्र थप गर्नुपर्ने हो, कति जग्गा अधिग्रहण गर्नुपर्ने हो त्यसको आधारमा गर्ने निर्णय भएको छ । अर्को, हामीले एक हजार सात सय रोपनी जग्गा हामीले अधिग्रहण गरेको भनेका थियौँ । त्यहाँका स्थानीयहरूको माग चाहिँ फोहर विसर्जन सरकारले अधिग्रहण गरेकै स्थानमा परेको छ कि बाहिर परेको छ ? त्यसको सीमाङ्कन गर्न माग गर्नुभएको छ । त्यसका लागि हामीले भूमि व्यवस्था मन्त्रालयसँग समन्वय गरेर सरकारले अधिग्रहण गरेको सरकारको सीमाना कति हो ? त्यसबाट कति स्थानीय प्रभावित छन् भनेर अध्ययन गरेर सिमाङ्कन गर्ने निर्णय गरेका छौं । अर्को, फोहर व्यवस्थापनको क्रममा बाटोमा दुर्घटना हुने, फोहर खस्ने भएका कारण वैकल्पिक शिवपुरीको सीमाना भएर छोटो मार्ग बनाउने निर्णय गरेका छौं । त्यसरी फोहर लगेर जाँदा बस्ती भएर जानुपर्दैन भनेर त्यो सडक निर्माण गर्ने निर्णय गरेका छौं । त्यसका लागि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने सबै महानगरपालिकाहरूले सहयोग गर्ने र शहरी विकास मन्त्रालयले समेत बजेटको प्रबन्ध मिलाउने निर्णय गरेका छौं । कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर कुहिने फोहरको काठमाडौं महानगरपालिकाको उपयुक्त स्थानमा कम्पोष्ट मल बनाउने निर्णय गरेका छौं ।’



नयाँ