कारागारमा रविलाई भेटेर फर्किएका बाबुरामले के भने ? [भिडियो]
सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
726
Shares
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्। शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले आफूहरूले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा रविलाई चिनेको बताए । उनले सभापति लामिछानेलाई अस्वाभाविक रूपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए । सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए । उनले सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए । भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्व प्रधानमन्त्री भट्टराईले जानकारी दिए ।
उनले भने, ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरू उदय भइरहेको छ । ती मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उनलाई विभिन्न ढङ्गले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । योप्रति अस्वाभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो । उनको स्वास्थ्य कस्तो छ भनेर हो । उन स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु । सहकारी सम्बन्धी समस्या छ त्यसको जरो धेरै फैलिएको छ । सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरूकै वरिपरि बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना बचत कर्ताहरू मर्कामा परेका छन् । तिनको समस्या समाधान हुनुपर्छ । अहिले यो कुरालाई अल्झाइराख्ने त होइन भन्ने छ । कानूनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्ने कुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदै छ । उनीहरूको समस्या समाधान गर्नुपर्छ ।’