arrow

प्रचण्डको स्वीकारोक्ति - हामीले जनताको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न सकेनौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
prachanda-09-25-01.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरूमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताको विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए । 

उनले माओवादी घटकहरू समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरू बल्झिँदै गएको बताए । माओवादी केन्द्रले आफ्ना एजेन्डाहरूमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको उनको भनाइ छ । उनले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएको कारण माओवादी केन्द्र आत्मरक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताए । 

उनले भने, ‘हामीले २०६४ सालको निर्वाचनमा जनताले हामीप्रति गरेको अपार भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न सकेनौँ । हामी जनताको त्यो विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि जान सकेनौँ । विविध कारणले हामी विभाजित भयौँ । र त्यो विभाजनको परिणाम आम कार्यकर्ता र कर्मचारीतन्त्र भित्र पनि कहीँ न कहीँ निराशा र असन्तुष्टिहरू बढ्दै गए । विभाजनका घाउहरू बल्झिँदै पनि गए । यसबीच हामीले राम्रो गर्न खोज्दाखोज्दै पनि हामी आत्मरक्षा गर्नुपर्ने ठाउँमा पुगेकै छौँ । हामीले हाम्रा एजेन्डालाई जति दरोसँग पक्रेर बस्नुपर्थ्यो तर त्यो पनि गर्न सकेनौँ । अनि हाम्रो वर्ग र हाम्रो समुदायप्रति हाम्रो एकता, उनीहरूसँगको हाम्रो निष्ठा र लगाव कमजोर हुँदै गयो । हामीले त्यहाँ पनि आत्मरक्षा गर्नुपर्ने आवश्यकता छ । हामीले हाम्रा एजेन्डाहरूलाई निरन्तर जसरी जनतामा लिएर जानुपर्ने थियो त्यो काम पनि बिस्तारै कमजोर हुँदै गएको देखियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ