अध्यक्ष नेपालद्वारा स्थायी कमिटीमा राजनीतिक विषयवस्तु प्रस्तुत
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
336
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बुधबारदेखि शुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन, मुलुकमा पछिल्लो समय विकासित राजनीतिक अवस्थालगायत विषयमा जानकारी गराएको पार्टीका सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभावबारे उल्लेख गरिएको छ । वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पुँजीको सञ्चय, आर्थिक रूपान्तरणका लागि पुँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन् ।
देशभर पार्टीको सङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशनबारे समीक्षा, आगामी दिनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गरिएको छ । बैठकले पार्टी सङ्गठनलाई सुदृढीकरण गर्न भावी कार्यदिशा तय गर्ने छ ।
नेताको कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित कार्यदलले बिहीबारको बैठकमा नामावली प्रस्तुत गर्ने र सोही बैठकले अनुमोदन गर्ने जनाइएको छ ।