प्रिन्टिङ प्रेसलाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको छ - मन्त्री गुरुङ [भिडियो]
अन्तःशुल्क स्टिकर, राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका वस्तुहरु नेपालमै छाप्ने परिस्थिति निर्माण गर्छौं
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
371
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चार-पाँच वटा मुद्दाहरु बाँकी रहेको बताए ।
उनले केन्द्रमा रहेका समस्याहरुलाई समाधन गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरु छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिईओ बनाइसकेका छौं । यस कोषमा अख्तियारसहितका चार-पाँच वटा मुद्दाहरु होलान् । यसमा रहेका सबै समस्याहरुको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा संचालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरुदेखि लिएर लापूर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका वस्तुहरु नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर लाग्ने कुरा अगाडि बढ्छौं । ’
उनले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताए ।