arrow

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा यूसएसएड शिक्षा आपतकालीन प्रतिकार्य परियोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
usaid-earthquake-rukum-jaja.jpg

ललितपुर । जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा शिक्षा प्रणालीको प्रतिकार्य र पुनःस्थापनालाई सहयोग गर्न ६ कारोड ८९ लाख (५.१ मिलियन अमेरिकी डलर) को परियोजना शुरु हुने भएको छ । 

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास संस्था (यूसएसएड) को आर्थिक सहयोग र भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट) बाट कार्यान्यवन हुने ̎यूसएसएड शिक्षा आपतकालीन प्रतिकार्य परियोजनाको बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा शुभारम्भ गरिएको हो । 

यो परियोजनाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित जिल्लाहरूमा शिक्षा प्रणालीको पुनस्र्थापना र पुनर्निर्माण सहयोग गर्ने उद्देश्य राखेको छ । 

शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान, र प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले जाजरकोट र पश्चिम रुकुमका बालबालिका सिकाइ सुविधाको अत्यन्त जरुरी रहेको बताउँदै यो परियोजनाले अस्थायी सिकाइ केन्द्र निर्माण गर्नुका साथै अन्य क्रियाकलापहरू मार्फत यो परियोजना आफ्ना लक्ष्यहरू प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे ।

शुभारम्भ कार्यक्रममा बोल्दै यूसएसएडकी मिशन निर्देशक केटी डोनोहोले २०२३ जाजरकोट भूकम्पबाट सार्वजनिक संरचनाहरू र विशेष गरी विद्यालयहरूमा गम्भीर प्रभाव परेको र नेपाल शिक्षा क्लस्टरले प्रारम्भिक प्रतिकार्य सम्बन्धी काम गरेको भए पनि सो कार्य अझै पर्याप्त नभएको हुनाले यो परियोजनाले जाजरकोट र पश्चिम रुकुममा शिक्षा आपतकालीन प्रतिकार्य, पुर्नस्थापना र समुदायको विपद् प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्ने बताइन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले नेपाल सरकारले लागू गरेको विद्यालय शिक्षा क्षेत्र कार्यक्रम (एसपीए) को एक प्रमुख उद्देश्य आपतकालीन अवस्थामा पनि बालबालिकाको सिकाइ निरन्तरता सुनिश्चित गर्नु रहेको भन्दै यो परियोजनाले एसपीएका मुख्य मान्यताहरूसँग मेल खाने गरी कार्यान्वयन गर्न सुझाव दिए ।

सो कार्यक्रममा एनसेटका अध्यक्ष डा. अमोदमणि दीक्षितले भूकम्प ग्एको एक वर्ष बितिसक्दा पनि विद्यार्थीहरूले उचित सिकाइ सुविधा नहुँदा समस्याको सामना गरिरहेको भन्दै स्थायी भवन निर्माणको पर्खाइमा वर्षौं लाग्न सक्छ, त्यसैले अस्थायी सिकाइ केन्द्रहरूको स्थापना अत्यन्त जरुरी भएको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप महानिर्देशक महेन्द्र पराजुलीले यो परियोजनाले भूकम्प प्रभावित क्षेत्रमा शिक्षा प्रणालीको पुनर्स्थापना र पुनःस्थापनामा योगदान पुर्याउँदै शिक्षा क्षेत्रको दीर्घकालीन प्रतिरोधात्मक क्षमता निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यसैबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्र, केन्द्रीय तह कार्यक्रम कार्यान्वयन इकाई (शिक्षा) र भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट) बीच सो परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

यो परियोजनाले भूकम्पबाट क्षति पुगेका जाजरकोट र पश्चिम रुकुमका १३  गाउँ तथा नगरपालिकाहरुका विद्यालयहरुमा शौचालय र हात धुने स्टेशन सहितको दुई कोठे ५०० अस्थायी सिकाइ केन्द्रहरु (टाइप २) निर्माण गर्ने, विद्यालय, शिक्षक, समुदाय तथा गाउँ तथा नगरपालिकाहरुका शिक्षा क्षेत्रका रोकारवालाहरुको क्षमता अभिबृद्धि तालिमहरु संचालन गर्नुका साथै नेपाल सरकारको मापदण्डमा आधारित शिक्षण सामग्रीहरु विद्यालयहरुलाई उपलब्ध गराउनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ