उपाधि जित्न जनकपुर १८५ रनको चुनौती पछ्याउँदै, तेस्रो भिडन्तमा कडा जवाफ दिने संकेत
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
503
Shares
काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्सले १८५ रनको चुनौती पछ्याइरहेको छ ।
जनकपुरले आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमलाई कडा जवाफ दिइरहेको छ । जनकपुरले सुदूरपश्चिमको भन्दा पनि तीव्र गतिमा रन जोडेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रनमात्र बनाउन सक्यो ।
पहिलो १०.१ ओभरमा १०३ रन बनाएको सुदूरपश्चिमले दोस्रो दश ओभरमा भने अपेक्षाअनुसार रन जोड्न सकेन । लगातार विकेट गुमायो ।
पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेको सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए ।
त्यसबाहेक सुदूरपश्चिमका खेलाडीहरुले खासै उल्लेखनीय ब्याटिङ गरेनन् । किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजबंशीले १ विकेट लिएका छन् । ललित लिगकै सर्वाधिक १७ विकेट लिने खेलाडी बनेका छन् ।
यता सुदूरपश्चिमले पछिल्ला सबै चार खेल जितेको छ भने जनकपुरले चारमध्ये दुई खेलमात्र जितेको छ ।
बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्त गरिरहेको हो ।
यो संस्करणमा जनकपुर सुदूरपश्चिमसँग तेस्रो पटक भिडिरहेको हो । यसअघिका दुवै भिडन्तमा जनकपुर पराजित भएको थियो ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो ।
तेस्रो प्रयासमा जनकपुरले बदला लेला त ? भन्ने प्रश्न अहम् छ । अर्कातिर लिग चरण र पहिलो क्वालिफायरमा जित हासिल गरेको सुदूरपश्चिम त्यही लयमा अगाडि जान नसके के होला ?
जेहोस् फाइनल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
उपाधि विजेताले एक करोड १० लाख रुपैयाँ जित्नेछ । फाइनलमा पराजित हुने टिमले ५१ लाख रुपैयाँ पाउने छ ।
तेस्रो भएको कर्णाली याक्सले २५ लाख पाउने छ भने चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ ।